
काठमाडौं, २५ कात्तिक । सामाजिक सञ्जालमा केही व्यक्तिहरूले महालक्ष्मी नगरपालिकाले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौतीमा आफ्नो नाम जोडेको भन्दै प्रदेश सभा सदस्य उम्मेदवार रामेश्वर श्रेष्ठले खण्डन गरेका छन् ।
प्रदेश सभा सदस्यमा उम्मेदवार भएपछि प्रायोजित रूपमा नजानेर होइन, जानीजानी नै नियोजित प्रचार गरिएको उनले बताएका छन् । ‘मेरो पाँच वर्षे कार्यकाल सकिएको ६ महिनापछि सामाजिक सुरक्षा भत्ता कटौतीको कुरा उठाइएको छ । सामाजिक सुरक्षा भत्ता २०७४ सालको स्थानीय तहको निर्वाचनमा मैले जारी गरेको घोषणापत्रमा उल्लेख भएको विषय हो । आफ्नो घोषणापत्र कार्यान्वयन गर्न नगर सभाबाट नै पारित गरेर लागू भएको हो,’ उनले भने ।
उनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मेरो पाँच वर्षे कार्यकालमा भत्ता कटौती भएको छैन । अझ मेरै कार्यकालमा वृद्धवृद्धाका लागि घरघरमै गएर स्वास्थ्य जाँचको कार्यक्रम सुरू भएको थियो ।’
महालक्ष्मी नगरपालिकाका पूर्वमेयर समेत रहेका श्रेष्ठले वृद्धवृद्धाका पक्षमा आफूले गरेको काम पुनःस्मरण गरेका छन् । ‘जीवनको उत्तरार्धमा एक्लोपन र रोगसँग जुधिरहेका हर वृद्धवृद्धामा मेरो आफ्नै आमा–बुबाको अनुहार देख्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सभा सदस्यमा उम्मेदवार भएपछि मैले जारी गरेको घोषणापत्रमा पनि बृद्धबृद्धाका लागि विशेष महत्व दिएर कार्यक्रम घोषणा गरेको छु । नेकपा एमाले नै त्यस्तो पार्टी हो, जसले नेपालमा पहिलोपटक बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता सुरू गरेर प्रौढ उमेरका नागरिकप्रति राज्यको दायित्व निर्वाह गरेको थियो ।’
श्रेष्ठले आफूले नगर प्रमुखका रूपमा पाँच वर्ष आफ्नो इमान्दारितामाथि अलिकति पनि तलमाथि हुन नदिएको उल्लेख गरे । उनले भने, ‘सुशासन र पारदर्शिताका सवालमा नगरपालिका गएर मेरो नेतृत्वमा भएका निर्णयहरूलाई एक–एक केलाएर सार्वजनिक परीक्षण (पब्लिक अडिट) गरिदिनुहुन अनुरोध गर्दछु ।’
नगर प्रमुखको रूपमा पाँच वर्ष काम गरेजस्तै प्रदेश सभा सदस्य निर्वाचित भएपछि इमान्दारिताका साथ नीति निर्माण, विकास निर्माण र समाजसेवामा क्रियाशील रहने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् ।















प्रतिक्रिया