१ कार्तिक २०८३, आइतबार

वडा अध्यक्ष नै गठबन्धनको चुनावी प्रचारमा, निर्वाचन कार्यालय मौन (भिडिओसहित)

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २५ कात्तिक । दोलखामा सत्ताधारी गठबन्धनहरूबाट श्रृङ्खलाबद्धरूपमा निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको छ ।

एक्लो नेकपा एमालेसँग प्रतिस्पर्धामा रहेको पाँच दलीय गठबन्धनले पछिल्लो समय राज्यका हरेक स्रोत, साधन र शक्ति प्रयोग गर्दै चुनावी प्रचार गरिरहेका छन् । यसको पछिल्लो दृष्टान्त हो, जनप्रतिनिधिको प्रयोग ।

दोलखा गठबन्धनले बिहीबार दोलखाको जिरी नगरपालिका–२ मा आयोजना गरेको चुनावी सभामा सोही वडाका जनप्रतिनिधि (वडाध्यक्ष) निमपल्दे शेर्पा पनि सहभागी भएका छन् । स्थानीय तहमा निर्वाचित कोही पनि जनप्रतिनिधिले दलको चुनावी प्रचारमा हिड्न नपाउने निर्वाचन आयोगको आचारसंहिताकै धज्जी उडाएर उनी बिहीबारको कार्यक्रममा सहभागी भए ।

हिजो आयोजित जिरी–२ को कार्यक्रममा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दन काफ्ले भाषण गरिरहेका देखिन्छन् । उनको सँगै रहेका वडाध्यक्ष शेर्पा (रातो स्वेटर र खैरो टोपी लगाएका) भने कार्यक्रमको तारतम्य र व्यवस्थापनमा व्यस्त देखिन्छन्, जिरी–२ का वडा अध्यक्ष हुन् ।

उनी आफ्नो वडामा गठबन्धनले गरेको घरदैलो अभियानमा पनि सधैं हिडिरहेको स्थानीयले बताए । यसबाहेक अन्य ठाउँको प्रचारमा पनि उनी नियमित पुगेको देख्न सकिन्छ । वडा कार्यालयमा आइपर्ने दैनिक काम नै छोडेर उनी दलको प्रचारमा हिडेको स्थानीयको भनाइ छ ।

स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तहभित्र कुनै पनि दलको प्रचारमा संलग्न हुन नपाउने निर्वाचन आचारसंहितामा उल्लेख छ । तर, वडाध्यक्ष शेर्पाले आफू निर्वाचित वडाकै कार्यक्रममा खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा मत मागेको र कार्यक्रमहरूमा सहभागी भएको दृश्यले समेत पुष्टि गरेको छ ।

हेर्नुहोस् भिडिओ–

निर्वाचनको मिति निजिकिदै जाँदा दोलखामा नेकपा एमालेको माहोल उत्साहजनक रूपमा बढ्दै गएको छ । स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा केही मतले पछि रहेको एमालेले यो बीचमा आफ्नो पक्षमा खस्ने मतको सङ्ख्या ह्वात्तै वृद्धि गरेको दाबी गर्न थालेको छ । उक्त दाबीबाट त्रसित मानसिकतामा पुगेको गठबन्धनले पछिल्लो समय राज्यशक्ति र जनप्रतिनिधिको समेत दुरुपयोग गरेर आफूलाई चुनावी प्रचारमा उतारिरहेको देख्न सकिन्छ ।

यसअघि पनि दोलखामा गठबन्धनले सत्ताको आडमा एकपछि अर्को आचारसंहिता उल्लंघन गरेको घटना बग्रेल्ती छन् । केही दिनअघि शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठ सत्ता गठबन्धनको चुनावी प्रचारप्रसारमा संलग्न भएका थिए । साथै गठबन्धनका उम्मेदवारहरूले आचारसंहिताविपरीतका प्रचार सामग्री प्रयोग गरेको तथा मन्त्रीले नै सहयोग सामग्री बाँडेकोलगायत घटना दोलखामा बारम्बार दोहोरिरहेका छन् ।

गठबन्धनले गरेको अबैध कामको नेकपा एमालेले आपत्ति जनाउँदै आएको छ । दोलखामा आचारसंहितको घट्ना बढेको भन्दै बारम्बार निर्वाचन कार्यालयको ध्यानाकर्षण गराउँदै आएको पनि एमालेले जनाएको छ । तर, निर्वाचन कार्यालयले उनीहरूमाथि आचारसंहिताबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन आनाकानी गरेर बसेको एमालेको आरोप छ । यसले दोलखामा निर्वाचनको स्वच्छतामा समेत प्रश्न उठ्न थालिसकेको छ ।