
झापा, २४ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र शीपबाट मात्र हुने बताएका छन् ।
झापाको दमकमा एमालेको जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीबार आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट हुन नसक्ने धारणा व्यक्त गरेका हुन् ।
‘आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न सक्दैन । त्यसले अन्य ज्ञान सीप र क्षमतालाई निस्क्रीय बनाएर लान्छ । आरक्षणले एउटा निश्चित व्यक्ति समुदायभित्रका केही व्यक्तिलाई मात्र अवसर दिन्छ । आम आरक्षणमा पर्नुपर्ने मानिस यसबाट बन्चित भएको नेपालमा धेरै उदाहरण छन्,’ ओलीले भने ।
लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई केही समयका लागि व्यवस्था गरिएको आरक्षण अब लामो समय जान नहुनेमा जोड दिए । ‘मानव सभ्यताको सुरूमा कुनै जात ठूलो सानो भन्ने नै थिएन । जङ्गली अवस्थामा मानिस जनावरसँग लडेर आफ्नो अस्तित्व बचाउने ध्यानमा हुन्थे । पछि विकास क्रममा एक समुदायले अर्को समुदाय बीचमा लडाईं हुँदा जित्ने समुदायले हार्ने समुदायलाई नोकर/दास बनाएर राख्न थाले । यही क्रम विकास हुँदै जाँदा पछि उनीहरूलाई विभेद गरेर जातकै आधारमा अन्याय हुने क्रम बढ्दै गयो । आरक्षण होइन यस्तो समुदायलाई समान हक अधिकार र अवसर दिनुपर्छ,’ ओलीले अगाडि भने, ‘यसैका अन्तिम रूपमा नेपाली समाजमा पनि दलित समुदाय भनेर छुवाछुत हुदै आएको हो । त्यसैले अब पहिला मानिसले दलित भन्ने मानसिकता त्यागेर मानिस सबै ज्ञान शीपको आधारमा मात्र परिचय हुनुपर्छ ।’
नेपालमा संबिधान कानुनमा बिभेद हटेको बषौं भए पनि मानिसको चेतना र व्यवहारमा बाँकी रहेको छ । शिक्षाले विभेदलाई हटाउन सकिने उनको तर्क छ । हाम्रो देशमा भएको जातीय विभेदविरुद्ध संगठित रूपमा नेकपा (एमाले) ले आवाज उठाउँदै आएकाले अब राज्य तहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने अध्यक्ष ओलीले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसकी स्थानीय नेता तथा विभिन्न संघसस्थामा आवद्ध मीना कोइरालाई नेकपा (एमाले) मा प्रवेश गरे ।















प्रतिक्रिया