
इलाम, २४ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।
इलाम क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेम्बाङले मंसिर ४ गतेपछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने बताएका हुन् । इलाम नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले देशव्यापी रूपमा आफ्ना एजेन्डासहित एमाले जनताका घर–घर पुगेको बताए ।
विगत वर्षमा अन्य निर्वाचन क्षेत्रमा समेत सघाउन जाने नेता नेम्बाङले यस पटक आफ्नै निर्वाचन क्षेत्रका जनतालाई बुझाउनुपरेकाले बाहिर जान नसकिएको सुनाए । जनताले निर्वाचनमार्फत काम गर्न सक्ने सरकार बनाउने उनको धारणा छ ।
नेता नेम्बाङले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकार चुप लागेर बसेको आरोप लगाए । एमालेले सार्वजनिक गरेको घोषणापत्रअनुसार अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।















प्रतिक्रिया