२ कार्तिक २०८३, सोमबार

अबदेखि एकीकृत कारोबारपछि मात्रै १५ दिन शेयर कारोबार रोक्का हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ कात्तिक । धितोपत्रको दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीलाई एक आपसमा गाभ्ने वा गाभिने निर्णय गरेपछि लामो समयसम्म लगानीकर्ता बन्धक हुँदै आएका थिए ।

आफूले लगानी गरेको सम्पत्ति बिक्री गर्न नपाउँदा त्यसबाट ठूलो हैरानी खेप्नु परेको थियो । गर्जो टाराँैला भनेर गरिएको लगानी लामो समयसम्म चुपचाप राख्नु पर्दा त्यसबाट पर्ने नकारात्मक असरको भुक्तभोगी शेयर बजारमा लगानी गर्ने धेरैजसो लगानीकर्ता छन् ।

बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत शेयर कारोबारका सन्दर्भमा रहेको त्यस खालको व्यवस्थाप्रति सकारात्मक बन्दै सबै व्यवस्था गर्ने जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई हस्तान्तरण ग¥यो ।

पछिल्ला दिनमा बैंक एक आपसमा गाभिन थाले । शेयर बजारमा कारोबार रोकियो । त्यसबाट उत्पन्न भएको नकारात्मक अवस्थालाई सम्बोधन गर्ने ध्येयका साथ केन्द्रीय बैंकले आवश्यक व्यवस्था गर्न बोर्डलाई नै अधिकार दियो ।

सोही अधिकार बमोजिम बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने तथा गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । सो निर्देशिका आजदेखि लागू भएको छ । नयाँ व्यवस्थाअनुसार अब १५ दिन मात्रै लगानीकर्ताको लगानी रोक्का हुनेछ । बोर्डले जारी गरेको निर्देशिकाअनुसार सूचीकृत संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने प्रक्रियामा गएर एकीकृत कारोबार गरेपछि मात्रै १५ दिनसम्म कारोबार रोकिनेछ ।

यसअघिको व्यवस्थामा भने एकीकृत कारोबार नहुँदासम्म शेयर कारोबार रोक्का राख्ने व्यवस्था थियो । ठूला लगानीकर्ताको अन्य विकल्प भए पनि साना तथा थोरै लगानी गर्ने लगानीकर्ताका लागि भने सामान्य गर्जो टार्न समेत समस्या पर्दै आएको थियो । संस्थाको शेयर मिलान वा धितोपत्र दर्ता वा अभौतिकीकरणका लागि मात्रै दुई साताको समय दिइएको हो ।

नयाँ व्यवस्थाअनुसार गाभ्ने वा गाभिने वा प्राप्तिसम्बन्धी जानकारी राख्ने सङ्गठित संस्थाका सञ्चालक, कर्मचारी वा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने वा गाभिने सम्बन्धमा कुनै पनि सूचना वा जानकारी सार्वजनिक गर्न नपाइने प्रबन्ध गरिएको छ ।

निर्देशिकाअनुसार सञ्चालक समितिले गाभ्ने वा गाभिनेसम्बन्धी प्रारम्भिक समझदारी गरेको दिन वा सो को भोलिपल्ट कारोबार समय अगाडि लक्षित सङ्गठित संस्थाका आधारभूत शेयरधनीको कारोबारका लागि साधारणसभा नभएम्मस रोक्का राख्न सक्नेछ ।

त्यस्ता शेयरधनीको विवरण सहित संस्थाले धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ । त्यस्तो निवेदन बमोजिम धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले सो संस्थाको आधारभूत शेयरधनीको कारोबार तत्काल रोक्का राख्ने व्यवस्था गर्नुपर्नेछ ।

पूर्वस्वीकृतिका लागि गाभ्ने वा गाभिने वा प्राप्ति सम्बन्धमा गरिएको प्रारम्भिक समझदारी, पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सानको हिसाब, नगद प्रवाहको अवस्था, गाभ्ने वा गाभिने समयबद्ध तालिकासहितको निवेदन दिनुपर्नेछ ।

बोर्डले संगठित संस्थाले दिएको निवेदन र आवश्यक शर्त पूरा गरेको अवस्थामा सात कार्यदिनभित्र अन्तिम स्वीकृति दिनेछ । सम्बन्धित नियमनकारी निकायको अन्तिम सहमति संलग्न गरी बोर्ड समक्ष निवेदन दिएको तीन कार्य दिनभित्र अन्तिम स्वीकृति दिने व्यवस्था निर्देशिकामा गरिएको छ ।

‘एकीकृत व्यवसायिक कारोबार गरेको मितिबाट गाभ्ने वा गाभिने संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्यदिनसम्म शेयर कारोबार रोक्का राख्न सम्बन्धित संगठित संस्थाले धितोपत्र बजार समक्ष निवेदन दिनुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

निवेदन प्राप्त भएपछि धितोपत्र बजारले सम्बन्धित संस्थाको शेयर कारोबार रोक्का राख्नुपर्नेछ । रासस