२ कार्तिक २०८३, सोमबार

नेकपा एस जिरी नगर कमिटी अध्यक्ष खड्का एमालेमै फर्किए, अरू को–को ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिरी (दोलखा), २० कात्तिक । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का जिरी नगर कमिटीका अध्यक्ष शैलेन्द्र कुमार खड्का नेकपा एमालेमै फर्किएका छन् ।

जिरी नगरपालिका–३ हाँडीखोलामा आइतबार बिहान भएको एमालेको चुनावी कार्यक्रममार्फत खड्का एमालेमा प्रवेश गरेका हुन् । जिरीमा लामो समय कम्युनिष्ट राजनीति गरेका शैलेन्द्र एमालेमा फर्किएसँगै नेकपा एसको जिरी नगर कमिटी सङ्कटमा परेको छ भने जिरी एमालेमय बनेको छ ।

एमाले फर्किएका खड्काले नेकपा एकीकृत समाजवादी पार्टी कम्युनिष्ट नभएको जिकिर गरेका छन् । उनी २०५४ को स्थानीय निर्वाचनमा जिरी गाविसको अध्यक्षसमेत भएका थिए ।

खड्कासँगै नेपाली कांग्रेस तथा समाजवादी छोडेर पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । समाजवादीबाट मोहन कुमारी खड्का, प्रज्ज्वल खड्का, परशुराम दहाल तथा नेपाली कांग्रेसबाट पुराना कांग्रेस नेता ईन्द्रबहादुर नेपालीसहित दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेकपा एमाले दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिबाकोटी, प्रदेश (क) उम्मेदवार नरबहादुर श्रेष्ठ, प्रदेश समानुपातिक उम्मेदवार उर्मिला सुनुवार, एमाले लेखा आयोग सदस्य शान्ति पाख्रिन, प्रदेश निर्वाचन परिचालन कमिटी (क) का संयोजक ईश्वरचन्द्र पोखरेललगायतले पार्टीमा स्वागत गरे ।

यसैबीच नेकपा एकीकृत समाजवादी शैलुङका नेता टेकबहादुर तामाङ पनि एमालेमै फर्किएका छन् । शुक्रबार शैलुङमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा तामाङ एमाले प्रवेश गरेका हुन् ।

एमालेको प्राथमिकतामा जिरीको विमानस्थल

नेकपा एमाले दोलखाका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुले जिरीमा रहेको विमानस्थल प्रयोगमा ल्याइने बताएका छन् । दोलखाको जिरी नगरपालिकाको लिङ्कन बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै एमालेका प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण शिवाकोटी र प्रदेश सभा (क) का उम्मेदवार नरबहादुर श्रेष्ठले एयरपोर्ट फेरि सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

२०२२ ताका बनेको एयरपोर्ट अहिले बन्द अवस्थामा छ । आगामी पाँच वर्षभित्र स्तरोन्नतिसहित सञ्चालनमा ल्याइने एमालेको योजना छ । एमालेकै स्थानीय सरकारको समयमा नगरपालिकामा शीतभण्डार निर्माण भइ सञ्चालनमा आएको, ‘क्लिन जिरी, ग्रीन जिरी’को नारासहित विभिन्न कार्यक्रमहरु भएको बताउँदै उनीहरूले जिरीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न एमालेसँग मात्रै दृष्टिकोण भएको दाबी गरेका छन् ।

समुन्नत जिरी निर्माणका लागि एमालेलाई सूर्य चिह्नमा मतदान गरी विजयी गराउन एमालेले जिरीवासीलाई आग्रह गरेको छ । दोलखाबाट प्रतिनिधिसभामा बालकृष्ण शिबाकोटी तथा प्रदेश सभा (क) मा नरबहादुर श्रेष्ठ र प्रदेश सभा (ख) मा भरतबहादुर केसी उम्मेदवार छन् ।