२ कार्तिक २०८३, सोमबार

काठमाडौं–९ का उम्मेदवार श्रेष्ठको प्रतिबद्धतापत्र : ‘देशको रक्षाका लागि एमालेलाई बहुमत’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्णगोपाल श्रेष्ठले निर्वाचन परिचालन कार्यालय उद्घाटन तथा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

प्रतिबद्धतापत्रमा उनले आगामी निर्वाचन देशको रक्षासँग गाँसिएको उल्लेख गर्दै देशको रक्षाका लागि पनि यो पटक एमालेलाई बहुमत दिनुपर्नेमा जोड दिएका छन् ।

नेता श्रेष्ठले नेपालको हराएको, मिचिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि फिर्ता ल्याउने राष्ट्रिय अभिभारा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारले मात्र पूरा गर्नसक्ने हुँदा आगामी निर्वाचनमा एमालेलाई बहुमत दिई विजयी बनाउन मतदातालाई आग्रह गरेका छन् ।

नेकपा (एमाले) देशको विकास र जनताका समस्या समाधानका लागि स्पष्ट दृष्टिकोण, नीति, कार्यक्रमका साथ अगाडि बढिरहेको कुरा घोषणापत्रमा गरिएको २० ग्यारेन्टीबाट स्पष्ट हुने बताउँदै ती विषय कार्यान्वयन गरी देशको मुहार फेर्नका लागि एमालेलाई विजयी बनाउनुपर्ने विचार पनि उनले व्यक्त गरेका छन् । ओलीको नेतृत्वमा एमालेको सरकार गठनका लागि उपत्यकाबाट पनि एमालेलाई धेरै भन्दा धेरै स्थानमा विजयी बनाउन उनको आग्रह छ ।

उनले संसदीय निर्वाचनमा आफ्नो उम्मेदवारी यो अन्तिम भएको घोषणा गर्दै सूर्य चिह्नमा मतदान गरी अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गरे । नेता श्रेष्ठले अधुरा विकास योजना पूरा गर्नका लागि अन्तिम पटक आफू उम्मेदवार भएको स्पष्ट पारे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य र काठमाडौं निर्वाचन क्षेत्र नं. ९(१) का एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार हरिकृष्ण डंगोलले पनि सूर्य चिह्नमा मतदान गरी नेकपा (एमाले) का उम्मेदवारहरूलाई अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गरे ।

प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. ९(२) मा एमालेबाट केशव पोखरेल उम्मेदवार छन् ।