
दोलखा, १७ कात्तिक । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले दोलखामा माओवादीलाई भोट हाल्न नचाहने कांग्रेसका नेता तथा कार्यकर्तालाई एमालेले संरक्षण गर्ने बताएका छन् ।
जिल्ला पार्टी कार्यालय दोलखामा बिहीबार कांग्रेस गौरीशंकर गाउँपालिका सचिव अर्जुन ओली र साविक मार्वु गाविसको सिङ्गो गाउँ कमिटीलाई एमालेमा प्रवेश गराउँदै नेता गुरुङले माओवादी केन्द्रका उम्मेद्वारलाई हँसियाहथौडामा भोट नहाल्ने काङ्ग्रेसका लोकतन्त्रवादी नेता कार्यकर्तालाई संरक्षण गर्न एमाले प्रवेश गराउने अभियान चलाउनुपर्ने समेत बताएका छन् ।
‘दोलखामा धेरै इमान्दार लोकतन्त्रवादी, हिंसा नरुचाउने साथीहरू हुनुहुन्छ, उहाँहरूले माओवादीका उम्मेद्वारहरू हसियाँ हथौडामा भोट हाल्ने मनस्थितिमा हुनुहुन्न,’ गुरुङले भने, ‘त्यस्ता साथीहरूलाई लोकतान्त्रिक पार्टी एमालेमै स्पेस र भविष्य छ, त्यसैले हामीले सबै गाउँ र वडाहरूमा कांग्रेसका नेता तथा कार्यकर्ता प्रवेश अभियान चलाउनुपर्छ ।’
पार्टी प्रवेशले दोलखामा एमालेको वर्चश्व रहेको कुरा पुनर्स्थापित भएको भन्दै उनले यसले ४ मंसिरको निर्वाचनमा पार्टीको विजयलाई थप सुनिश्चित गरेको पनि प्रष्ट्याएका छन् ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य रचना खड्का, सरस्वती बस्नेत, प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिबाकोटी, प्रदेशसभाका उम्मेद्वारहरू नरबहादुर श्रेष्ठ, भरतबहादुर केसीलगायत सहभागी थिए ।















प्रतिक्रिया