
दाङ, १५ कात्तिक । दाङको तुलसीपुरस्थित हाम्रो पहुँच माध्यमिक विद्यालयले सहकारी विद्यालय सञ्चालनको अनुमति प्राप्त गरेको छ ।
तुलसीपुर–७ मा रहेको विद्यालयलाई हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने अनुमति प्राप्त गरेको हो ।
सहकारीलाई तुलसीपुर उपमहानगरपालिकाले विद्यालय सञ्चालनको अनुमति दिएको हो ।
सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालनसम्बन्धी निर्देशिका २०७८ बमोजिम हाम्रो पहुँच माविलाई हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तर्गतको सहकारी विद्यालयको रूपमा सञ्चालन गर्न अनुमति प्रदान गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिए ।

उपमहानगरपालिकामा यसअघि कुनै पनि सहकारीले विद्यालय सञ्चालनको अनुमति नपाएको उनले बताए । सहकारीले विद्यालय सञ्चालन गर्ने अनुमति प्राप्त गरेको नेपालमै पहिलो पटक हो ।
नगरप्रमुख टीकाराम खड्काले सहकारीका अध्यक्ष शुक्रराज भण्डारी, सल्लाहकार भरत भण्डारी र विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीलाई आज सोमबार विद्यालय सञ्चालनको अनुमति पत्र प्रदान गरेका हुन् ।
निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेको तत्परतामा सहकारी विद्यालय सञ्चालनको निर्देशिका २०७८ जारी भएसँगै अहिले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीले विद्यालय सञ्चालनको अनुमति प्राप्त गरेको सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिए ।
सहकारीले विद्यालय सञ्चालन गर्ने अनुमति प्राप्त गरेको नेपालमै पहिलो भएको उनले बताए । विद्यालय सञ्चालनको अनुमतिका लागि निर्देशिका बनाउने जनप्रतिनिधि र कर्मचारीलाई भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।















प्रतिक्रिया