
काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ ।
आज काठमाडौंमा विशेष समारोह आयोजना गरी डिजिटल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले विद्युतीय माध्यमबाट स्वीच थिचेर घोषणापत्र सार्वजनिक गरे ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जारी गरिएको घोषणापत्र सपना, मन्त्र, वाचा, अवसर, प्रतिबद्धता, अठोट र प्रश्न समावेश गरेर २० हजार शब्दमा लेखिएको एमालेले जनाएको छ ।
साथै एमालेका उम्मेदवारलाई नै किन भोट हाल्ने भन्नेबारे दुई ओटा प्रश्नको उत्तर दिँदै एमालेले मतदातालाई ६ वटा महत्वपूर्ण प्रश्न समेत गरेको छ । जसले एमालेबाहेक अर्को चुनाव चिह्नमा मतदान गर्नुअघि अत्यन्तै सोचनीय बनाउने छ ।
घोषणापत्रमा एमालेले आफ्नो नेतृत्वमा सरकार गठन भए समृद्धिका लागि नीतिगत र संरचनागत सुधार, राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने जनाएको छ ।
त्यस्तै सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिने उल्लेख गरिएको छ भने कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार, सबै पालिकामा खाद्य भण्डार स्थापना, सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने लक्ष्य एमालेले राखेको छ ।
त्यस्तै घोषणापत्रमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आय आर्जनमार्फत् खाद्यसुरक्षा प्रदान गर्ने, ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, ‘पूर्णसाक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने लगाएत उल्लेख छ ।
पर्टीले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनाएको थियो । समितिले विभिन्न सुझाव सङ्कलन गरी प्राप्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालले जनाएको छ ।















प्रतिक्रिया