२ कार्तिक २०८३, सोमबार

प्रचण्डका प्रतिस्पर्धीको आज १००औं जन्मदिन !

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव लडिरहेको गोरखा क्षेत्र नम्बर २ धेरै कारणले चर्चामा छ ।

त्यसमध्ये एउटा चर्चा उम्मेदवारहरूको उमेरका कारण पनि भइरहेको छ । किनकी ७० वर्ष पुग्न लागेका प्रचण्डसँग २७ वर्षका अब्दुस मियाँ एमालेबाट र एक सय वर्षका वृद्ध टिकादत्त पोखरेल बिपी काँग्रेसबाट उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

अब्दुस यो चुनावका सबैभन्दा कान्छो उम्मेदवार हुन् भने टिकादत्त सबैभन्दा बढी उमेरका हुन् ।

प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका पोखरेलले आज आफ्नो सय वर्षको जन्मोत्सव मनाएका छन् । सिरानचोक–४ माझगाउँवेशीस्थित निजी निवासमा परिवार र छरछिमेकका माझ उनले हर्षोल्लासका साथ जन्मसतक मनाएका हुन् ।

विक्रम सम्वत १९८० कात्तिक १४ गते जन्मिएका टिकादत्तले जन्मदिनमा आफन्तजन र छरछिमेकलाई घरमा बोलाएर केक काटेर रमाइलो गरेका छन् । नेपाली सेनाको जागिर त्यागेर २००४ सालमा मुक्तिसेनामा भर्ती भई राणा शासन अन्त्यका लागि उनी लडेका थिए ।

वीपी कोइरालाका सहयोद्धाका रूपमा काम गरेका टिकादत्त अहिले विपी काँग्रेसबाट परेवा चुनाव चिह्न लिएर प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।

चितवन छाडेर गोरखमा चुनाव लड्न आएका प्रचण्डले देशलाई खोक्रो बनाएर आफूले मात्र कमाएको, सहिदको सपनालाई लत्याएको र विदेशीको इशारामा देशहितविरुद्ध विभिन्न काम गरेको टिकादत्तको आरोप छ ।