
भक्तपुर, १२ कात्तिक । नेकपा एमालेको पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले अब भक्तपुरलाई महानगरपालिका बनाउनेगरी अगाडि बढेको बताएका छन् ।
आज शनिबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका–१ सिरुटारमा आयोजना गरेको युवा भेला तथा उम्मेदवार परिचय कार्यक्रममा नेता बस्नेतले भक्तपुरलाई महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक तथा अन्य संरचनाहरूको निर्माण प्रक्रिया अगाडि बढिरहेको जानकारी गराए ।
‘महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरू एक पछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन् । अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो । जनताको जीवनस्तर उच्च बनाउने हो,’ बस्नेतले भने । महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक संरचनाहरू बनिसकेको उनको भनाइ छ ।
सडक, शिक्षा, स्वास्थ्य, शिक्षा, खेलमैदान, खुल्ला स्थल, होटेल तथा पर्यटकीय स्थलहरूको जिल्लामा व्यापक मात्रामा विकास र विस्तार भइरहेको सविस्तार उल्लेख गर्दै उनले भक्तपुरका जनताको र समयको माग अनुसार महानगरपालिका बनाउने दृढ संकल्पका साथ एमाले र एमालेका उम्मेदवारहरू अगाडि बढिसकेको दाबी गरेका छन् ।
जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान चलाइरहेको उल्लेख गर्दै उनले अबका दिनमा जिल्लामा नै रोजगारीको सृजना गर्न व्यापक मात्रामा औद्योगीकरणको योजना अगाडि बढाइएको बस्नेतको भनाइ छ । भक्तपुरलाई महानगरपालिका बनाउने लक्ष्यका साथ स्मार्ट सिटी, आधुनिक सभागृह, आधुनिक वीर अस्पताल, कवर्ड हल, रंगशालालगायत योजनाहरू पनि अगाडि बढिसकेको उनले बताएका छन् ।
त्यस्तै पर्यटकीय, धार्मिक, सांस्कृतिक, कलालगायत क्षेत्रहरूलाई उद्योगसँग जोड्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले अब जिल्लाका प्रत्येक घरबाट कम्तिमा एक जना मास्टर्स डिग्री पास गरेको मानिसहरूको बौद्धिक समुदायको जिल्लाको रूपमा विकास गराउने आफ्नो योजना रहेको सुनाए ।
जिल्लास्थित बौद्धिक वर्गको आवाजलाई संघ तथा प्रदेशको नीति निर्माणमा प्रयोग गर्नुपर्ने अबको आवश्यकता रहेको औंल्याउँदै उनले नेपालका विभिन्न जिल्लाको नागरिकको खोजीको रूपमा मात्र नभई विश्वभरका नागरिकको अध्ययन क्षेत्रको रूपमा भक्तपुरको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजा, एमाले बागमती प्रदेशका सदस्य शसी जंग थापा, एमालेका उम्मेदवार किरण थापालगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा सयौं युवाहरू विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।















प्रतिक्रिया