२ कार्तिक २०८३, सोमबार

‘एमाले सिध्याउने माधव नेपाल र झलनाथ खनालको नाटकमा पात्र बन्नुपर्दा दुखानुभूति भएको छ’

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १२ कात्तिक । एकीकृत समाजवादी पार्टी कास्कीका सचिव होमबहादुर नेपालीले माधव कुमार नेपाल र झलनाथ खनालको नाटकमा निरीह पात्र बन्नुपर्दा आफूलाई दुखानुभूति भएको बताएका छन् ।

शनिबार नेकपा एस परित्याग गरी नेकपा एमालेमै फर्किएका नेपालीले अब नेकपा एस भन्ने पार्टी नेपालमै नरहने दाबी समेत गरेका छन् । ‘माधव नेपाल र झलनाथ खनालको नाटक मञ्चनको पात्र म पनि भएँ । एक वर्षमा धेरै बुझेँ, भोगेँ । अब त्यो पार्टी रहन्नँ,’ नेपालीले भने, ‘अबको चुनावमा जो गठबन्धनबाट जित्छन्, तिनीहरू मात्र त्यो पार्टीमा रहनेछन् ।’

नेकपा एसको केन्द्रीय प्रतिनिधि सदस्यसमेत रहेका नेपालीले आफूमात्रै एमालेमा नफर्किएको बताउँदै भने, ‘आज म एक्लै आएको छैन । हजारौँ फर्किनेछन् । विधि र पद्धतिका कुरा गर्ने, आफै सांगठनिक पद्धतिमा नचल्ने त्यस्तो पार्टीमा कोही बस्ने छैनन् । एमाले सक्ने उहाँहरूको योजना सफल हुन पनि दिने छैनौँ ।’

उनले विगतमा जानअञ्जान भएको गल्ती महसुस गर्दै अब हिजोका सहयोद्धासँगै एकसाथ यात्रा गरेर एमालेलाई मजबुत बनाउन लागि पर्ने सङ्कल्प गरेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नै नेकपा एमाले भएको उनको भनाइ छ ।

उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ ले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामामा उनी एमालेमै फर्किएका हुन् । विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

कार्यक्रममा एमाले कास्कीका इञ्चार्ज एवम् केन्द्रीय सदस्य कृष्ण थापाले मुक्ति आन्दोलनका नेता नेपाली पुनः घर फर्किँदा आफू हर्षित बनेको बताउँदै बाहिर रहेका सबैका लागि ढोका खुला रहेको र विशाल हृदयले स्वागतका लागि आतुर रहेको बताए । सबै एक भएर सूर्य चिह्नवाहक उम्मेदवारलाई भारी मतले जिताउनुपर्नेमा थापाले जोड दिए ।

यस्तै कास्की क्षेत्र नं. २ (क) का उम्मेदवार एवम् एमाले केन्द्रीय सदस्य भीम कार्कीले एमालेको महत्वपूर्ण खम्बा नेपालीलाई स्वागत गर्दै एउटा समुदायलाई पछाडि पारेर समाज र देश विकास सम्भव नभएकाले विगतका विभेदको क्षतिपूर्तिसहित सँगसँगै हातेमालो गरेर एमाले अघि बढिरहेको बताए ।

कास्की क्षेत्र नं. २ (ख) की उम्मेदवार मीना गुरूङले उत्पीडित दलित उत्पीडित वर्गको पार्टी नेकपा एमाले भएकाले पार्टीमा उत्पीडित वर्गको सहभागिता अपरहार्य रहेको बताइन् ।

कार्यक्रममा संघीय समानुपातिक उम्मेदवार नन्दकला नेपाली क्षेत्रका समानुपातिक उम्मेदवार डा. छममाया पुन, एमाले कास्की सचिव बैन बहादुर अधिकारी क्षेत्री, मुक्ति समाज केन्द्रीय सचिव धनबहादुर नेपाली, जिल्ला सचिवालय सदस्य भेषराज बराललगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

निर्वाचन परिचालन उपसमिति क्षेत्रीय संयोजक मनबुजा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य किसान परियारले स्वागत एवम् पार्टी प्रदेश कमिटी सदस्य बलराम गायकले सञ्चालन गरेका थिए ।