
काठमाडौं, ११ कात्तिक । खासगरी मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरू भएको छ ।
चार दिनसम्म विशेष रूपमा मनाइने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरू हुन्छ । तराईका जिल्लाहरूमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ ।
व्रतालुहरूले पर्व सुरू हुन एक दिनअघि नै उसिनिएको धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तुहरू नखाने चलन छ । यो विधिलाई ‘अरबा–अरबाइन’ भनिन्छ ।
‘अरबा–अरबाइन’ गरेका व्रतालुहरूले चौथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ ।
पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ ।
सुनसरीको इनरूवास्थित सुनसरी खाेलामा शुक्रबार छठ पर्वका लागि घाट सफा गरिँदै ।
छठ पर्वका लागि धनगढीको मोहना घाटमा निर्माण गरिएका पूजा कक्षहरु । मोहना घाटमा पूजाका लागि झन्डै ३०० भन्दा बढी पूजा कक्ष निर्माण गरिएको बताइएको छ ।
छठ पर्व नजिकिँदै गरेको अवस्थामा सप्तरीको राजविराजमा केरा खरिदबिक्री गरिँदै गरेको स्थानियबासी ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७ को नयाँ बजारमा छठ पर्वका लागि ट्रकमा केरा ल्याएर बिक्री गरिँदै । छठ पर्वमा केराका सिँगो घरी नै प्रसादको रूपमा चढाउने गरिने भएको हुँदा अहिले केराको माग अत्यधिक बढेको छ
धनगढीको मोहना घाटमा शुक्रबार छठ पर्वका लागि सूर्य देवताको प्रतिमा बनाउँदै कालिगढ । छठ पर्व मनाउन धनगढीको मोहनाघाटमा विशेष तयारी गरी सिँगार्ने कार्य भइरहेको छ ।
छठ पर्वको अवसरमा सुनसरीको इटहरी उपमहानगरपालिकामा शुक्रबार निकालिएको शोभायात्रामा सहभागी इटहरी उपमहानगरपालिकाका प्रमुख हेमर्कण पौडेलसहित अन्य भक्तजन ।
जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठका लागि चाहिने सरसामग्री किनमेल गर्दै ब्रतालु ।
छठ पर्वका अवसरमा छठघाट निर्माण गर्न सप्तरीको राजविराजस्थित कल्टुपोखरी र पोखरी परिसरमा सरसफाइ गर्दै स्थानीयवासी ।
छठ पर्वका लागि धनगढीको मोहना घाटमा तयारी गर्दै छठ पूजा सेवा समितिका पदाधिकारी । पछिल्लो समय धनगढीको मोहना घाटमा विशेष तयारी गरी पर्व मनाउने गरिएको छ ।
छठ पर्व मनाउन सरसफाइ गरिएको जनकपुरको गङ्गासागर परिसर । आजदेखि सुरु भएको छठ पर्व कात्तिक १३ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन गरिन्छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा किसानले बिक्री गर्न ल्याएको उखु । नजिकिँदै गरेको छठ पर्वमा छठीमातालाई मिठाइ रोटी, विभिन्न मौसमी फलफूलसँगै उखु पनि चढाइन्छ ।
छठका लागि शुक्रबार पूजा सामग्री किन्दै महिलाहरु ।
तस्वीर : रासस















प्रतिक्रिया