
काठमाडौं, ११ कात्तिक । सान होजेमा मार्च महिनाको अन्त्यतिर त्यो साँझ शीतल थियो ।
विश्वका सबैभन्दा धनी व्यक्तिसँग एअरबीएनबीमा बैठक गर्न हतारमा तयारी गरिएको थियो । ट्विटरका लागि उक्त बैठक निकै महत्त्वपूर्ण थियो ।
इलोन मस्क त्यस बेला भर्खर ट्विटरका सबैभन्दा ठूला शेअरधनी बनेका थिए । उनी कम्पनीको बोर्डमा सहभागी इच्छुक रहेको चर्चा पनि चलेको थियो । उक्त स्थानमा पुग्दा ट्विटरका अध्यक्ष ब्रेट टेलरले सोचे जस्तो देखेनन् ।
‘त्यो मैले हिजोआज बैठक गरेको सबैभन्दा उदेकलाग्दो ठाउँ हो,’ उनले लेखेर मस्कलाई यस्तो सन्देश पठाएको बताइन्छ । उनले मस्कलाई भने, ‘मलाई लाग्छ विमानस्थलनजिकै कुनै एअरबीएनबी खोजिएको थियो, अनि त्यहाँ ट्याक्टर र गधाहरू थिए ।’ यद्यपि उक्त बैठक सहजतापूर्वक सम्पन्न भयो ।
त्यसको केही दिनपछि मस्क ट्विटरको बोर्डमा सम्बद्ध हुने घोषणा गरियो । त्यो एउटा सुरुवात मात्र थियो । त्यसपछिका छ महिनामा सिलिकन भ्यालीको इतिहासमै आश्चर्यचकित पार्ने खालको एउटा सहमति भयो । एप्रिल महिनाको सुरुमा ट्विटरको बोर्डमा प्रवेश पाउँदा मस्क खुसी नै देखिन्थे ।
त्यस बेला कम्पनीमा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा उनी नियमित रूपमा ट्विटहरू गरिरहन्थे । यद्यपि उनी र ट्विटरका सीईओबीचको गोप्य बैठकहरू त्यति उत्साहवर्धक भएनन् । उक्त अनलाइन मञ्चलाई कसरी राम्रो बनाउने भन्ने विषयमा उनीहरू एकमत हुन सकेनन् । मस्क निराश भए ।
‘परागसँग कुरा गरेर ट्विटरलाई बलियो बनाउन सम्भव छैन,’ उनले टेलरलाई पठाएको भनिएको सन्देशमा लेखिएको छ । ‘कठोर कदम आवश्यक छ ।’ एप्रिल १२ मा यी अर्बपतिले सार्वजनिक रूपमै आफूले ट्विटर पूर्ण रूपमा किन्न खोजेको घोषणा गरे ।
उनले ४४ अर्ब डलरमा ट्विटर किन्न वा छाड्न प्रस्ताव गरे । ट्विटरको बोर्डले सुरुमा उक्त प्रस्ताव अस्वीकार गर्यो । मस्कले बलपूर्वक कम्पनी हात पार्न नसकून् भनेर उसले ‘पोइजन पिल’ भनिने व्यवस्था पनि लागु गर्यो । त्यसपछि अर्को परिवर्तन देखा पर्यो ।
ट्विटरको बोर्डले त्यसबारे सोचविचार गरेर भन्दै एप्रिल २५ मा उक्त प्रस्ताव स्वीकार गर्ने घोषणा गर्यो । प्रतिक्रियामा मस्कले उत्साहित भावमा ट्वीट गरे । मस्कले ट्विटरले बाटो बिराएको तर्क गरेका छन् ।
ट्विटरले धेरै पटक वाक्स्वतन्त्रतालाई अवरोध पुर्याएको आरोप लगाउँदै ट्विटरले विश्वको ‘टाउन हल’का रूपमा अभिव्यक्ति स्वतन्त्रतालाई सर्वोपरि मान्नुपर्ने उनको धारणा छ ।
उनले आफूले ‘अर्थतन्त्रको बारेमा कत्ति पनि मतलब नगर्ने’ कुरा क्यानडाको भ्यान्कुभरमा आयोजित टेड२०२२ मा दिएको एउटा अन्तर्वार्तामा बताएका थिए ।
केही साता र महिनापछि प्रविधि क्षेत्रको शेअरको मूल्य घट्यो । ट्विटरको मूल्य पनि खस्कियो । लगत्तै धेरै विश्लेषकहरूले कतै मस्कले ट्विटरलाई धेरै नै बढी पैसा त दिन लागेका हैनन् भनेर प्रश्न उठाउन सुरु गरे ।
सार्वजनिक रूपमा उनले बेग्लै प्रश्न सोध्न थाले– ट्विटरमा कतिवटा साँच्चिकैका खाता छन् ? यी अर्बपतिलाई फोर्ब्स र ब्लूमबर्गले संसारका सबैभन्दा धनी व्यक्तिको सूचीमा राखेका छन् । उनको कुल सम्पत्ति झन्डै २५० अर्ब डलरजति छ ।
उनले वर्षौँदेखि ट्विटरमा बोटहरूको सङ्ख्याबारे गुनासो गर्दै आएका छन् । आफ्नो प्रस्ताव स्वीकार गरिएपछि उनले बारम्बार ट्विटरलाई वास्तविक प्रयोगकर्ताको विवरण दिन आग्रह गरे ।
ट्विटरका कार्यकारीहरूले दैनिक सक्रिय प्रयोगकर्ताको पाँच प्रतिशतभन्दा कम बोट रहेको विवरण दिएका थिए । उनीहरूले नमुनाका रूपमा केही खाताहरू चयन गरेर त्यस्तो अनुमान गरेका थिए । त्यसले मस्कलाई क्रुद्ध पारेको देखियो ।
त्यो विवरण कसरी आयो भन्ने विषयमा सीईओ पराग अग्रवालबाट आएको शृङ्खलाबद्ध ट्वीटमा बिस्टाको इमोजी लेखेर मस्कले आफ्नो असन्तुष्टि र असहमति व्यक्त गरे ।
उक्त सम्झौता कमजोर हुँदै थियो । पूरै अनपेक्षित नभए पनि जुलाई ८ मा मस्कले आफू सम्झौताबाट पछि हट्न चाहेको घोषणा गरे ।
उनले उक्त कम्पनीको लागि अझ राम्रो मूल्य खोजिरहेका थिए वा उनी साँच्चिकै त्यसबाट पछि हटेका थिए ? यो भन्न गाह्रो छ । ट्विटरले कुनै पनि तर्कलाई ग्रहण गरेन ।
उक्त कम्पनीले मस्कको ट्विटर कम्पनी किन्न सम्झौता कानुनी रूपमा बाध्यकारी हुने भन्दै त्यसबाट पछि हट्न नमिल्ने दाबी गर्यो ।
दुवैतिर महँगा वकिलहरू थिए । मस्कले कम्पनी किन्नैपर्ने बाध्यता छ कि छैन भन्ने टुङ्गो लगाउन अक्टोबर १७ मा अदालतमा भेला हुने सहमति भयो । अदालतमा पेस गरिएको दस्तावेजमा ट्विटरले वास्तविक प्रयोगकर्ताबारे आफूले प्रशस्त विवरण दिएको जनाएको छ ।
मस्कले भने ट्विटरले सार्वजनिक रूपमा भनेभन्दा कैयौँ गुना बोट रहेको तर्क गरेका छन् । उनले कम्पनीले ढाँटेको आरोप पनि लगाएका छन् ।
सार्वजनिक रूपमा गरिएका यस्ता आलोचनाको मार ट्विटर कम्पनीमाथि परिरहेको थियो ।
ट्विटरको सबैभन्दा उल्लेख्य कमाए विज्ञापनबाट आउँछ । विज्ञापनदाताहरू कति विज्ञापन वास्तविक मानिसले हेरिरहेका छन् भन्ने सोच्न थाले । ट्विटर मुख्यालयमा समेत यो प्रक्रिया निकै तनावपूर्ण बन्यो । केही कर्मचारीहरू मस्क सीईओ बन्ने चर्चामा रमाइरहेका थिए ।
धेरैले गोप्य रूपमा र केहीले सार्वजनिक रूपमै मस्कले ट्विटर किने कन्टेन्ट मोडरेशन र कम्पनीका ठूला लक्ष्य जोखिममा पर्ने टिप्पणी गरे ।
मस्क, ट्विटर, न्यायाधीश र पत्रकारहरू सबै एउटा अपरिहार्य देखिएको मुद्दाको तयारीमा लागिरहँदा अर्को उल्लेख्य मोड आयो ।
ट्विटरमाथि सबै खाले आरोप लगाएपछि मस्कले अचानक उक्त सम्झौतामा आफू फर्किएको जनाए । के कुराले उनको मनस्थिति फेरियो होला त ? उनले मुद्दा हार्न सकिने ठानेको पनि हुनसक्छ ।
पुनः सम्झौतामा फर्किनुभन्दा केही दिनअघि उनले ट्विटरका वकिलहरूसँग बयान दिनुपर्ने थियो । उनले विस्तृत सोधपुछ छल्न खोजेको पनि हुनसक्छन् । कारण जेसुकै भए पनि ट्विटरले मौन नै रह्यो ।
ट्विटरका अध्यक्षले ट्विटमार्फत् नै मस्कसँग सहमति भएको सर्तमा कारोबार टुङ्ग्याउन कम्पनी प्रतिबद्ध भएको बताए । ट्विटरले समेत मुद्दा खारेज गर्न नभनीकन सार्न भनेको छ ।
ब्रिटिश समयानुसार अक्टोबर २८ शुक्रबार ५ बजेभित्र मस्कलाई पैसा लिएर आउन भनिएको छ । अर्बौँ रकम उनका धनाढ्य साथी र ब्याङ्कहरूले दिनेछन् । बाँकी पैसा उनले टेस्लाको शेअर बेचेर जोहो गर्नेछन् ।
बेलाबेलामा ठूलो सङ्कटमा परेको देखिएको त्यो सम्झौता अहिले समापन हुन लागे जस्तो देखिन्छ । बीबीसीबाट















प्रतिक्रिया