२ कार्तिक २०८३, सोमबार

पोखरी नै पोखरीको सहर जनकपुरमा छठको तयारी पूरा, सरसफाइ पनि गरियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ११ कात्तिक । जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिकरूपमा आजदेखि सुरू भएको छ ।

पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिँगारेर पूजाको तयारी पूरा गरिएको हो । पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबले टेन्ट र पण्डाल लगाएको राम युवा समिति अध्यक्ष परमेश्वर साहले बताए ।

जनकपुरधामको गङ्गासागर पोखरीका अतिरिक्त धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई स्थानीय युवा क्लबले सजाएका छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले छठका अवसरमा जनकपुरधाममा सरसफाइ अभियान सुरू गरिएको बताए । महासेठले छठ पर्वका अवसरमा जनकपुरमा व्यापारिक चलहपहलसमेत बढेको बताए ।

कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरू हुने यो पर्व सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ ।

पहिलो दिन सूर्य देवतालाई अघ्र्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अघ्र्य’ भनिन्छ । साँझका समयमा सूर्य देवतालाई प्रसादका रूपमा दिइने अघ्र्य नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अघ्र्य’ मा दिइने परम्परा छ ।

छठ पर्व मनाउन जनकपुरको गङगासागर वरिपरि सरसफाइ गरी छटघाट निर्माणको तयारी गरिँदै । आजदेखि सुरु भएको यो छठ पर्व कात्तिक १३ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन गरिन्छरु। तस्बिरः अजयकुमार साह/रासस

छठ व्रत गर्ने सबै जना चौथी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् । यही तिथिका दिनदेखि छठ पर्व औपचारिकरूपमा प्रारम्भ हुने गर्दछ । यस दिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् ।

कात्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने वर्तालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाँडामा अरबा चामलको खिर बनाउने गरिन्छ ।

सख्खर हालेर बनाइएको खिर देवीदेवतालाई प्रसादका रूपमा चढाइन्छ र उक्त प्रसादस्वरूप खिर वर्तालुका साथै घरका अन्य सदस्यले ग्रहण गर्दछन् । जसलाई मिथिलाञ्चलमा खरना भनिन्छ । कात्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला डुब्दै गरेको सूर्यलाई अघ्र्य दिन्छन् ।

साँझका समयमा घण्टाँैसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अघ्र्य चढाउने गरिन्छ । उक्त दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायःरातभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् । छठको प्रसादमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिँगार, फलफूल, पान, सुपारी, धूप, दीपआदि रहन्छ । रासस