
दाङ, ८ कात्तिक । नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारले विकास बजेट कटौती गर्दा विकासक काम ठप्पप्रायः भएको बताएका छन् ।
आज मंगलबार जिल्लास्थित अम्माखोली साँस्कतिक परिवार तुलसीपुर उपमहानगरपालिका–१८ ले आयोजना गरेको भैलो कार्यक्रमको शुभारम्भ गर्दै पोखरेलले एमालेको सरकार हुँदा देशव्यापी रूपमा विकासका गतिविधि अगाडि बढाएको भए पनि अहिलेको सरकारले त्यसलाई निरन्तरता नदिँदा विकासको काम ठप्प भएको बताएका हुन् ।
एमालेको सरकार हुँदा दाङ–सल्यान–रुकुमसम्म राप्ती राजमार्ग, घोराही–होलेरी–डोल्पासम्म शहीदमार्ग, कर्णाली जोड्ने तुलसीपुर–सुर्खेत मार्ग, घोराही देवीस्थान प्युठानमार्गजस्ता रणनीतिक महत्वका सडक पूर्वाधारको निर्माण, स्तरोन्नतिको काम गरिएको भन्दै पछिल्ला दिनमा सरकारले बजेट कटौती गर्दा विकासको काम ठप्पजस्तै भएको महासचिव पोखरेलको भनाइ छ ।
‘दाङमै पनि घोराही–हापुर आँखा अस्पताल पञ्कुले सडक, बबई–कोहलपुर सडक, रामपुर भालुवाङ सडक निर्माणको चरणमा रहेको छ,’ उनले भने, ‘परम्परागत दामोदर सडकको स्तरोन्नतिको काम गरिएको छ, तर यी सडकहरूमा एमाले सरकारले विनियोजन गरेको बजेट गठबन्धन सरकारले कटौती गर्दा काम रोकिएको छ ।’
दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका महासचिव पोखरेलले गुमेको जमीन समेटेर चुच्चे नक्सा जारी गरेकै कारण एमालेविरुद्ध घेराबन्दी गरिएको बताउँदै आगामी निर्वाचनमा गठबन्धनविरुद्ध मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गरेका छन् । गठबन्धन सरकारले देशमा महङ्गी बढाएर आर्थिक रूपमा देश नै टाट पल्टाउन लागेकाले एमालेको सरकार आवश्यक रहेको पोखरेलको भनाइ छ ।















प्रतिक्रिया