२ कार्तिक २०८३, सोमबार

एमालेलाई किन भोट हाल्ने ? ईश्वर पोखरेलले प्रस्तुत गरे यी आधार

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न, स्थिर र बलियो सरकार निर्माण गर्न, राष्ट्रिय हितको रक्षा गर्न, सुशासन कायम गर्न, गुमेको भूमि फिर्ता ल्याउन तथा आर्थिक विकास र समृद्धिका लागि नेकपा एमालेको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् ।

आज सोमबार काठमाडौंमा नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै उनले एमालेलाई मत दिनुपर्ने सयौं कारणहरूबारे चर्चा गरेका हुन् ।

पूर्व उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पोखेलले मुलुकमा रोजगारी सृजना गरी वैदेशिक रोजगारीमा जानैपर्ने नेपाली युवायुवतीको बाध्यताको अन्त्य गर्न एमालेले थुप्रै प्रयासहरू गरेको समेत बताएका छन् ।

‘सात वटै प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्ने र ७५३ वटै पालिकामा औद्योगिक ल्याव निर्माण गर्ने कुराको थालनी नेकपा एमालेले गरेको छ,’ उनले अगाडि भने, ‘दैलेखमा ग्यास उत्पादन उद्योग स्थापना गर्नका लागि चिनियाँहरू ल्याएर त्यसको अनुसन्धान र अध्ययन गराइएको छ भने नवलपरासीमा फलाम खानी स्थापना गर्ने काम एमालेको सरकारले अगाडि बढाएका छ ।’ यी सबै कामबाट मुलुकमा रोजगारी सृजना हुने र युवायुवतीले विदेश जानुपर्ने बाध्यताबाट मुक्ति पाउने विश्वास एमालेको रहेको पोखरेलको भनाइ थियो ।

‘रोजगारीका लागि विदेश जाने बाध्यताको अवस्थालाई बदल्नुपर्छ भन्ने सोचका साथ एमालेले चौतर्फी रूपमा विकासको कामलाई अगाडि बढाएको छ । तर, एमालेको काम देखेर आत्तिएकाहरूले नेपालमा कम्युनिष्ट सरकार अपदस्त गरी वैचारिक मतभिन्नता भएका शक्तिहरूबीच गठबन्धन निर्माण गरी मुलुकमा राजनीतिक अस्थिरता सृजना गरेका छन्,’ उनले भने, ‘अब अस्थिरता सृजना गरी विकासका काम रोक्ने उद्देश्य बोकेका गठबन्धनको अन्त्य गर्न पनि एमालेमा मतदान गर्नुपर्ने बेला आएको छ ।’

विभिन्न राजमार्गहरूको स्तरवृद्धि र फराकिलो बनाउने कामको अगुवाई एमालेले गरेको बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘पूर्व–पश्चिम राजमार्ग अहिलेको अवस्थाले हुँदैन भनेर चार लेन र ६ लेनको बनाउने कामको थालनी हामीले गरेका छौँ । पूर्वपश्चिम रेलमार्ग बनाउन हामीले डीपीआर बनाएर जग्गाको मुआब्जा दिने कुराहरूको प्रारम्भ गरिसकेका छौँ । जनकपुर–जयनर र विजयपुर–जनकपुर रेल कुदाउने कुराको सुनिश्चिता हामीले गरेका हौँ ।’

यस्तै उनले उत्तर–दक्षिण जोड्ने राजमार्गहरू बनाउने र चीनसँग जोड्ने बाटोहरू बनाउने कामको थालनी पनि एमालेले गरेको बताएका छन् । त्यतिमात्र होइन पूर्व–पश्चिम राजमार्गसँग जोडिएका तराई मधेशका क्षेत्रहरूमा जोडिने बाटोहरू चार लेन र ६ लेनको बनाउने काम समेत एमालेले थालनी गरेको उनले बताए ।

एमाले देशको एकमात्र विकासवादी र जनमुखी पार्टी भएकाले सूर्य चिह्न लिएर उठेका उम्मेदवारहरूलाई विजयी बनाउने दायित्व आम मतदाता, जनसमुदाय र सम्बन्धित पार्टीका नेता–कार्यकर्ताको अह्म दायित्व भएको बताउँदै उनले नुवाकोटका उम्मेदवारहरूलाई विजयीका लागि शुभकामना दिएका छन् ।