
काठमाडौं, ७ कात्तिक । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाइन कार्यालय महाराजगञ्जमा आयोजित कार्यक्रमबीच सोमबार कुकुर पूजा सम्पन्न भएको छ ।
कार्यक्रममा उक्त कार्यालयकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले कार्यालयमा रहेका विभिन्न तालिम प्राप्त कुकुरहरूलाई पूजा गरे । साथै, उनले यस वर्षको उत्कृष्ट कुकुर ‘पप्पी’, आज भएको दौड प्रतियोगितामा उत्कृष्ट हुने कुकुर ‘रुरु’, हाइजम्पमा उत्कृष्ट हुने कुकुर ‘रिया’ र बाधापारमा उत्कृष्ट हुने कुकुर ‘रोज’लाई पुरस्कार तथा मेडल प्रदान गरे ।

उक्त अवसरमा प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्दै विभिन्न स्थानको अपराध अनुसन्धान गर्न नेपाल प्रहरीका कुकुरहरूले पुर्याएको सहयोगबारे जानकारी दिए ।
कार्यक्रममा कार्यालयमा रहेका तालिम प्राप्त कुकुरहरूले बाधापार, ट्रयाकर डगको काम, रेस्क्यू डगको काम, रनिङ्ग कम्पिटिसन, हाइजम्प कम्पिटिसन, सबुदको खोजी कार्य, अपराधीको खोजी एवम् पहिचान, हातहतियार तथा विष्फोटक पदार्थ खोजी एवं पहिचान, लागूऔषध खोजी एवम् पहिचान, रिमोट कन्ट्रोल कला पर्दशनी, डग आकृति बनाउने, आज्ञापालन कला प्रदर्शनी लगायतका कार्यहरू गरेका थिए ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धानलगायत कार्यमा तालिमप्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ । साथै सोही अवसरमा प्रदेशका केनाइन कार्यालयहरूमा समेत आजै कुकुर पूजा गरिएको थियो ।
कार्यक्रममा प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू एवम् स्थानीय बासिन्दाहरूको समेत उपस्थिति थियो ।
















प्रतिक्रिया