
कपिलवस्तु, ७ कात्तिक । शिवराज नगरपालिकाले कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गरेको छ ।
काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको अभ्यासलाई पछ्याउँदै शिवराज नगरपालिकाले पनि कार्यपालिकाको प्रत्यक्ष प्रशारणको सुरुवात गरेको हो ।
कार्यपालिकाको पाँचौं बैठक प्रत्यक्ष प्रशारण गरिएको सदस्यसचिव राकेश पाण्डेले जानकारी दिए । आइतबार कार्यपालिकाको बैठक दिउँसो २ बजेदेखि प्रत्यक्ष प्रशारण भएको थियो । शिवराज नगरपालिकामा मेयर अजय थापाले निर्वाचित भएर आइसकेपछि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गरिने बताएका थिए ।
पाँचौं कार्यपालिका बैठकले विभिन्न एजेन्डा स्वीकृत गरेको छ भने महत्वपूर्ण एजेन्डा बहुमतले अस्वीकृत गरेको छ ।
आइतबारको कार्यपालिका बैठकले धानखोलालगायत टाढाबाट आउने विद्यार्थीलाई यातायात सेवा उपलब्ध गराउने प्रस्ताव भने बहुमतले अस्वीकृत गर्यो । धानखोलालगायतका ठाँउबाट विद्यार्थीलाई विद्यालय आउन असहज भएको भन्दै मेयर थापाले त्यस्ता विद्यार्थीलाई यातायात सेवा उपलब्ध गराउने प्रस्ताव कार्यपालिका बैठकमा लगेका थिए ।
तर, उक्त प्रस्ताव कार्यपालिकाबाटै बहुमतले अस्वीकृत भएको हो । धानखोलाबाट ६०–७० जना विद्यार्थी जागृति प्रावि बनकसाबासा, रेञ्जर पोष्टको सरस्वती निमावि र नेपाल आदर्श माविमा अध्ययनका लागि आउने गर्दछन् ।
उनीहरूलाई यातायातका कारण विद्यालयमा आउन समस्या हुने गरेको छ । बर्खाको समयमा विभिन्न जोखिम मोलेर उनीहरू विद्यालय आउने गर्दछन् । यस्तै योजना कार्यान्वयन पुस्तक सम्बन्धको प्रस्ताव पनि अस्वीकृत भएको छ ।
आइतबारको कार्यपालिका बैठकले प्रारम्भिक वातावरणीय प्रतिवेदन आईईई कार्यसूचिसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ भने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका विद्यार्थीलाई थप अनुदान उपलब्ध गराउने, कार्यतालिका सम्बन्धमा, बजेट माग गर्ने र कित्ताकाटबारे प्रस्ताव स्वीकृत गरेको छ ।















प्रतिक्रिया