२ कार्तिक २०८३, सोमबार

लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती मनाइयो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती सोमबार मनाइएको छ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

दश वर्षको उमेरमा कविता लेख्न सुरू गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

२००४ सालमा देवकोटा सरेको मैतीदेवीस्थित घरलाई गत असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरिएको छ ।

नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो ।