२ कार्तिक २०८३, सोमबार

माओवादी नेत्री देवी खड्काको प्रश्न–रितबहादुरसँगै रहेका अग्नि सापकोटा कसरी बाँचे ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । नेकपा माओवादी केन्द्र दोलखाकी नेत्री देवी खड्काले निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटामाथि गम्भीर आरोप लगाएकी छिन् ।

उनले एक सार्वजनिक कार्यक्रममा आफ्नै पार्टीका शीर्ष तहका नेता समेत रहेका सापकोटाप्रति आफ्ना दाजुको हत्या भएको घटनासँग जोडेर आक्षेपपूर्ण र गम्भीर अभिव्यक्ति दिएकी हुन् ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरी दोलखाका गठबन्धन दलहरूले आज शनिबार काठमाडौंमा आयोजना गरेको संयुक्त कार्यक्रममा उनले आफ्ना दाजु रितबहादुर खड्काको हत्या भएको घट्नासँग जोडेर भनिन्, ‘घटनाका समयमा रितबहादुरसँगै रहनुभएका अग्नी सापकोटा कसरी बाँच्नुभयो ? यो गम्भीर प्रश्नको विषय बनेको छ ।’ अग्नी सापकोटाले दोलखाको माओवादीलाई जुधाएर पार्टी अध्यक्षको प्यारो बनेको भन्दै नेत्री खड्काले आक्रोश व्यक्त गरेकी छिन् ।

टिकट वितरणमा पार्टीले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि जिल्ला इञ्चार्जको पदबाट राजीनामा दिएकी नेत्री खड्का पछिल्लो समय आफ्नै पार्टीका शीर्ष नेताहरूको कार्यशैलीविरुद्ध खरो रूपमा प्रस्तुत हुन थालेकी छिन् ।

पार्टीको निर्णयप्रति गम्भीर बिमती रहेको स्पष्ट पार्दै त्यसबिरुद्ध बिद्रोहस्वरूप पदबाट राजीनामा दिएको उनले बताएकी छिन् । पार्टीभित्र नातावाद मौलाएकोप्रति आक्रोश पोख्दै उनले भनिन्, ‘दाहिनेपट्टी श्रीमती च्यापेर, देब्रेपट्टी बहिनी राखेर, एकापट्टी गुटको अर्को महिला च्यापेर आजीवन सत्तासिन रहिरहने नवराजा र नवरानी प्रवृत्तिविरुद्ध देवी खड्काको विद्रोह हो ।’

पार्टीभित्र विकसित नातावादको विरोध गरिरहँदा उनीमाथि पनि दोलखा माओवादीको राजनीति आफ्नो परिवारमा सीमित गरेको आरोप छ ।

कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्लास्तरीय नेता तथा गठबन्धनका उम्मेदवारहरूले मन्तव्य व्यक्त गरेका थिए ।