२ कार्तिक २०८३, सोमबार

टिकट नपाएर रुष्ट भीम रावललाई केपी ओलीले के भने ? (भिडिओ)

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट नपाएर रुष्ट बनेका पार्टीका नेता भीम रावललाई सार्वजनिक रूपमै जवाफ फर्काएका छन् ।

एमालेका तर्फबाट २०४८ सालदेखि निरन्तर सांसद र मन्त्री हुँदै आएका रावलाई एउटा अवसर गुम्दैमा रुवाबासी नगर्न ओलीले सुझाव दिएका छन् । रावलले आफ्नो राजनीतिक जीवनमा विभिन्न पद, प्रतिष्ठा, सुविधा र ओहोदाको पटक–पटक उपभोग गरिसकेकाले अरुलाई पनि अवसर दिनुपर्ने ओलीको भनाइ छ ।

‘असोज २–३ गतेसम्म सांसद रहेका मान्छे । ०४८ सालदेखि सांसद हुँदै आएका छन्,’ शनिबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीले मंगलबजारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले रावलतर्फ लक्षित गर्दै भने, ‘पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री पनि तिनैलाई खानुपरेको छ, गृहमन्त्री, रक्षामन्त्री, भौतिक पूर्वाधार मन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, नागरिक उड्डयनमन्त्री, खेलकुदमन्त्री, महिला तथा बालबालिकामन्त्री, नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उनलाई किन बनाइएन भनेर फेरि रुवाबासी छ ।’

एकै जना मान्छेले मात्रै सबै प्रकारको अवसर पाइरहनुपर्छ भन्ने मान्यता त्याग्नुपर्ने ओलीको भनाइ छ । पार्टीमा योगदान नै नभएकाहरुले पद नपाएकै कारण एमाले छाडेर बिरोधमा उत्रिएको ओलीले बताएका छन् ।

पार्टीबाट जीवनमा महत्वपूर्ण अवसरहरू प्राप्त गरेका रावलले पछिल्लो समय पार्टीको पक्ष र हितमा कुनै कुरा नबोलेकोप्रति आक्रोश व्यक्त गर्दै ओलीले भने, ‘काम कस्तो गरेको छ, त्यो नभनौँ, पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन, अरु–अरु प्रकारका तमासा देखाएर बसेका छन्, अनि उनैलाई पार्टीले अवसर दिएको दियै गर्नुपर्ने हो र ?’

ओलीले अहिले एमालेभित्र कुनै पनि प्रकारको गुटबन्दी नरहेको बताउँदै आगामी दिनमा समेत त्यस्ता प्रकारको गुटबन्दी हुन नदिने बताएका छन् । ‘अब गुटबन्दी नेकपा एमालेभित्र छैन, हुन दिइँदैन,’ ओलीले भने ।