
कठमाडौं, ५ कात्तिक । नेपाल टेलिकम (एनटीसी) ले तिहार, छठ तथा म्हपूजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।
डाटा प्याक अन्तर्गत रू. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रू. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रू. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उनका अनुसार रू. २०० देखि रू. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रू. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक उपलब्ध हुने छ ।
यसैगरी पहिलो पटक भोल्टी सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भोल्टी सेवा पनि उपलब्ध गराइएको बताइएको छ ।
उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने प्रवक्ता अधिकारीको भनाइ छ ।
उक्त अफरहरु यी पर्वहरुका अवसरमा कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुनेछन् ।















प्रतिक्रिया