
काठमाडौं, ५ कात्तिक । भरतपुर महानगरपालिका–१ लिलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो । आफ्ना बुबाले मादल बनाउन सिकाएका उहाँलाई अहिले मादलमात्र होइन छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउन आउँछ । उनको दैनिकी नै छालाबाट बन्ने बाजा बनाउने काममा बित्ने गरेको छ ।
एक÷दुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट उनी पेसामा आएको सङ्कट र व्यवसायमा आएको मन्दीका कारण चिन्तित छन् । तिहारको समयमा पनि मादलको बिक्री नभएपछि वैकल्पिक पेसा अपनाउनु पर्ने हो कि भन्ने सोचमा छन् ।
उनले नारायणगढमा आकृति मादल पसल सञ्चालन गरेको नै दश वर्ष भयो । त्यसअघि मुग्लिनलगायत ठाँउमा उनले मादल बनाउने र बिक्री गर्ने गर्दथे। “यो सिजनमा कोरोनाभन्दा अघिका वर्षमा दैनिक आठ/दशवटा मादल बिक्री हुन्थ्यो”, उनी भन्छन्”, “यस वर्ष दिनमा एक/दुईवटा पनि बिक्री हुन धौधौ छ ।” उनले बनाएका मादल काठमाडौँ, पोखरा, बागलुङ, बुटवल र पूर्वी नेपालका समेत विभिन्न सहरमा पुग्ने गर्दछ ।
“मादलको बिक्री सबैभन्दा धेरै गाउँमा हुने हो । अहिले गाउँघरमा पनि तिहारको बेला स्पिकर र डेक बजाउन थाले”,उनले भने । एक हजार ५०० देखि सात हजारसम्मका मादल उनले उत्पादन गर्ने गरेका छन्। “पहिले मनोरञ्जनको साधनको रुपमा मादल मात्र थियो, कुलुले भने, “अहिले विभिन्न माध्यम आए ।” मादल बजाउन नजान्ने अहिलेका पुस्ताबाट बाजाको संरक्षण हुन नसक्ने उनको भनाइ छ । उनले भने, “अहिलेको पुस्ता कतिलाई मादल बजाउन आउँदैन । अङ्ग्रेजी गीतमा नाच्न थालेकालाई मादल बजाउन लाज लाग्न थालेको छ ।” उनले विद्यालयदेखिनै मादललगायत अन्य मौलिक बाजा बजाउन बालबालिकालाई सिकाउनुपर्ने विचार राखे । पलायन हुन थालेका मादल व्यवसायीलाई सरकारबाटै संरक्षण हुनुपर्ने उनले बताए। “स्थानीय पालिका, टोल विकास समिति, विभिन्न जातजातिका सांस्कृतिक टोलीलगायत मौलिक बाजा बचाऊ अभियानमा लाग्नुपर्छ”, उनले भने। व्यवसायीको आम्दानी भएनभन्दा पनि हाम्रो मौलिक अस्तित्व जोखिममा छ भनेर सबैले बुझ्न आवश्यक रहेको कुलुले बताए ।
मादल बनाउन प्रयोग हुने सामग्री पूर्वी नेपालबाट ल्याउने गरेको उनले बताए । अहिले मादललाई आकर्षक देखाउन रिङको प्रयोग हुने गरेकोले सो सामग्री भारतबाट ल्याउन थालेको जानकारी दिए । उनको जस्तै तिहारमा भीडभाड हुने नारायणगढका अन्य मादल पसल पनि सुनसानजस्तै भएका छन् । मादल बजाई देउसीभैलो खेल्ने यो पर्वमा फाट्टफुट्ट ग्राहक मात्र देखिन्छन् ।
सरकारले नेपाली मौलिक बाजाको संरक्षण गर्न नसक्दा व्यवसाय नै सङ्कटमा परेको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कको उमेश मादल पसलका नारायण नेपालीले बताए । एक हप्तामा जम्मा १२ वटा मादल मात्रै बेचेको भन्दै उनले यस्तै अवस्था रहे पेसा नै छोड्नुपर्ने अवस्था आउने दुखेसो पोखे । “यही अवस्था रहिरे आफ्नो लगानी र घरभाडासमेत तिर्न मुस्किल हुन्छ”, उनले भने, “व्यवसायमा यस्तो सङ्कट आजसम्म आएको थिएन ।”
मौलिक बाजामा केन्द्रदेखि स्थानीय सरकारको ध्यान नजाँदा नेपाली परम्परा, संस्कार, संस्कृतिसँगै यससँग सम्बन्धित व्यवसायीको अस्तित्व मेटिँदै गएको उनको भनाइ छ । उनले भने, “तिहारमा हिन्दी गीतमा युवायुवती नाच्न थाले, मादल बजाउँदै देउसीभैलो खेल्ने आफ्नो संस्कृति भुले, विवाह, पूजामा मौलिक गीतलाई बिगारेर गीत बजाउँछन् । आधुनिकतासँगै रोधी बस्न छाडे । यस्तै रहे किताबको पानामा मात्र मादल नेपाली बाजा हो भन्ने हाम्रा पुस्ताले पढ्नेछन् ।”
मादल बेचेर आफ्नो र आफ्नो परिवारको जीविकोपार्जन गरिरहेका नेपालीले आफ्नो बुबाबाट मादल बनाउन सिकेका थिए । उनले यहाँ बनाएका मादल पोखरासम्म पुर्याउछन् । गत वर्षसम्म एक हजारमा मादल बेच्दै आएका उनले अहिले महँगीका कारण दुई हजार पाँचदेखि पाँच हजारसम्ममा बिक्री गर्दै आइरहेको बताए। नारायणगढको घोषणा मादल पसलकी शान्तमाया बसेलले मादल व्यवसाय नै धरापमा परेको बताए।
“कोरोना सङ्क्रमणभन्दा पहिला व्यापार राम्रो थियो । तिहारमा बढी बिक्री हुने मादल, तीज, दसैँ, शिवरात्रि, स्वस्थानी पूजाको समयमा पनि राम्रो आम्दानी हुन्थ्यो । असार साउनबाहेक बाँकी महिना राम्रो बिक्री हुँदा सन्तोषजनक थियो”, उनले भने । आधुनिकतासँगै बाहिरी संस्कार, संस्कृतिप्रति आकर्षित हुँदा मौलिकता बचाउन गाह्रो भएको बसेलको भनाइ छ ।











प्रतिक्रिया