१ कार्तिक २०८३, आइतबार

नेशनल भेट्रान्स चेस च्याम्पियनशीपलाई समृद्धि फाइनान्सले प्रायोजन गर्ने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । नेपाल बुद्धिचाल संघ र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच प्रायोजन सम्झौता भएको छ ।

नेपाल बुद्धिचाल संघद्वारा आगामी कात्तिक १९ गतेदेखि २१ गतेसम्म आयोजना गरिने नेशनल भेट्रान्स चेस च्याम्पियनशीपका लागि उक्त प्रायोजन सम्झौता गरिएको हो ।

आज शुक्रबार एक समारोहकाबीच नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम तथा समृद्धि फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

करिब ७ लाख ५० हजारको लागतमा सम्पन्न हुने च्याम्पियनशीपको मुख्य प्रायोजकका रूपमा समृद्धि फाइनान्सले नेपाल बुद्धिचाल संघलाई ३ लाख रूपैयाँ प्रदान गर्नेछ । कार्यक्रममा समृद्धिका सीईओ लोहनीले चेस संघसँगको प्रायोजन सम्झौतालाई निरन्तरता दिन आफू प्रतिवद्ध रहेको बताएका छन् ।

त्यसैगरी बुद्धिचाल संघका अध्यक्ष गौतमले संघद्वारा आयोजना गरिने विभिन्न बिधाका करिब १५ वटा राष्ट्रिय प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन गर्नका लागि प्रयासरत रहेको जानकारी दिए । साथै गौतमले कर्पोरेट सेक्टरको प्रत्यक्ष सहभागीतामा मात्र नेपालमा चेस खेललाई व्यवसायीकरण गर्न सकिने बताए ।

समृद्धि फाइनान्सको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाल बुद्धिचाल संघका उपाध्यक्ष सुवोधराज शेर्पाली तथा सचिव उमेश केसीको सहभागिता थियो । त्यसैगरी समृद्धि फाइनान्सका तर्फबाट चिफ अपरेटिङ अफिसर चुडामणि खनाल तथा ब्राण्ड एण्ड प्रोडक्ट डिर्पाटमेन्ट हेड सुरज कुमार सराफको उपस्थित थिए ।

गत असार अन्तिम साता काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले राष्ट्रिय प्रतियोगिताहरूको क्यालेण्डरलाई कार्यसमिति बैठकबाट अनुमोदन गराईसकेको छ ।

साथै संघले आगामी मंसिर महिनामा नेशनल बी तथा नेशनल सिटी च्याम्पियनशीपको समेत तयारी शुरु गरिसकेको छ ।