
घोराही, ४ कार्तिक । आसन्न मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारहरुले मतदातासँग जसरी दैलोमै पुगेर मत मागिरहेछन् त्यसैगरी मतदाताहरुले पनि उम्मेदवारलाई विकासको माग गरिरहेका छन् ।
यस्तै माग र सुझाव नेकपा एमालेका महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेललाई पनि मतदाताहरुले दिइरहेका छन् ।
चुनावी भेटघाटका क्रममा शंकर पोखरेललाई मतदाताहरुले भने-‘जसरी गुमेको प्रदेश राजधानी दाङ ल्याउनुभयो । त्यसैगरी दाङमा विकास ल्याइरहनुहोला ।’
स्वयंसेवक नेपालका केन्द्रीय अध्यक्ष खेमराज पौडेलले जिल्लाको विकास र राष्ट्रिय हितमा एमाले नेतृत्वले खेलेको भूमिकाको प्रशंसा गर्दै यसलाई अझै निरन्तरता दिन आग्रह गरे।
‘हिजो गुमेको प्रदेश राजधानी तपाईकै कार्यकुशलताले दाङ आइपुगेको हो । त्यसको कार्यान्वयन र समग्र जिल्लाको विकासमा तपाईको भूमिका हुनुपर्छ, पौडेलले भने, अपुरा काम पुरा गर्नकै लागि पनि दाङका मतदाताले तपाईलाई नेतृत्वमा पुर्याउछन् । गुण विर्सिएका छैनन् ।’

राष्ट्रिय राजनीतिमा दाङले विगतदेखि नै आफ्नो स्थान बनाइराखेको स्मरण गर्दै पौडेलले त्यो भूमिका र स्थानको रिक्ततापूर्ति गर्ने काम पोखरेलबाट भइरहेको र त्यो हैसियत फेरी पनि जनताले दिन लागेको बताए ।
पौडेललेमात्रै होइन घरभेटमा पुग्दा मतदाताहरुले पनि दाङको विकास, प्रदेश राजधानी कार्यान्वयनका लागि फेरि राष्ट्रिय व्यक्तित्वकै खाँचो रहेको प्रतिक्रिया दिएका छन । मतदातासँग उम्मेदवार शंकर पोख्रेलले दंगाली जनताको आकांक्षा पूरा गर्न प्रदेश राजधानी दाङ ल्याइएको बताए ।
उनले जनताकै बलमा निर्णय गरेको तर सरकार ढलेपछि त्यसको कार्यान्वयन हुन नसक्नु दुखद भएको बताए। तर जनताको साथ सहयोग भए राजधानी कार्यान्वयनमात्र नभई देशकै नमूना राजधानीकारुपमा विकास गर्न एमालेले भूमिका खेल्ने उनको भनाई थियो ।
लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो कार्यकालमा दाङको विकासमा उल्लेख्य काम थालेको स्मरण गराए। उनले दाङमा अन्तरजिल्ला, पालिका जोड्ने सडक, घोराही–हापुर–रक्षाचौर बैकल्पिकमार्ग, भाइरल रोडको निर्माण, कृषि सडक, परम्परागत दामोदर मार्गको स्तरोन्नति, टू लेन, ३० वढि पुल निर्माण, नमूना अटो भिलेज निर्माण, बहुलाखोला, सेवारखोला नमूना तटवन्ध, जलाशय निर्माण, सरकारीस्तरमा इन्जिनियरिङ कलेजजस्ता थुप्रै काम गरिएको भन्दै अझै रंगशाला निर्माण, सहिदमार्ग, दाङ–सुर्खेत सडकजस्ता महत्वपूर्ण काम निर्माधिन अवस्थामा रहेको बताए ।












प्रतिक्रिया