
काठमाडौं, ४ कात्तिक ।
१) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज नागरिकसँग टेलिफोन संवाद । १ लाख ७१ हजार ७३८ जनाले देखाएका थिए ओलीसँग कुरा गर्ने इच्छा ।
२) सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु, शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपाल नेपाल पोखरामा ।
३) अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ मा ७४ वर्षीय हिमबहादुरले गरे आफ्नै ७० वर्षका भाइ वीरबहादुर गमालको भीरबाट धकेलेर हत्या, भत्ता बुझेर घर फर्किंदा झगडा परेको प्रहरीको भनाइ ।
४) तनहुँको बन्दीपुर–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट ११ वर्षीया बीना चेपाङको मृत्यु, सानिआमाको घर जाने क्रममा सालघारीमा आज बिहान साढे ६ बजे चितुवाले आक्रमण गरेको प्रहरीको भनाइ ।
५) काठमाडौं महानगरपालिकाद्वारा बाबु आमा गुमाएका बालबालिकालाई मासिक भत्ता दिने घोषणा । आफू बसोबास गरेको वडा कार्यालयमा ३० दिनभित्र आवेदन दिन आग्रह ।
६) नेकपा एमालेका अध्यक्ष केपी ओलीद्वारा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको चलचित्र महापुरुष हेर्ने इच्छा, बाँचुञ्जेल अभिनय गर्ने मदनकृष्णको सदिच्छा पूर्ण होस भन्ने ओलीको कामना ।
७) मंसिर ४ गते हुने निर्वाचनको समयमा ७२ घण्टा भारतीय सीमा सिल गरिने । आपराधिक गतिविधि हुन नदिन सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइने ।
८) पश्चिमी वायुका कारण देशभर चिसो बढ्यो, काठमाडौंको बिहानको न्युनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस ।
९) नेपाली बजारमा शुक्रबार सुन मूल्य घट्यो, प्रतितोला ९२ हजार ५ सयमा कारोबार ।
१०) मलेसियामा मङ्सिर ३ गते आम निर्वाचनको घोषणा, उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुने । चुनावप्रचारका लागि दुई हप्ताको मात्र समय ।
११) पोखरामा आयोजित नवौँ राष्ट्रिय खेलकुदमा आर्मी क्लव ७२ स्वर्ण पदकसहित च्याम्पियन बन्यो । अब दुई वर्षपछि कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने ।
१२) इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले लिड्स युनाइटेडलाई २-० र फुलहमले एस्टनभिल्लालाई ३–० गोलले हरायो । फुल्हमसँग लज्जास्पद हार बेहोरेपछि एस्टन भिल्लाका मुख्य प्रशिक्षक जेरार्ड बर्खास्त ।











प्रतिक्रिया