
काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित साधनस्रोतका बाबजुद खेलका माध्यमबाट नेपाली खेलाडीले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
नवौँ राष्ट्रिय खेलकुदको बिहीबार पोखरामा आयोजित समापन समारोहमा नेपाली खेलाडीले राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा उत्कृष्ट प्रदर्शन गरी देशको गरिमालाई उँचो बनाएको बताए ।
खेलको विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसको विकासका लागि राज्यको लगानीसँगै निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहित गरिनुपर्नेमा जोड दिए। स्थानीय एवं प्रदेशस्तरमा खेलको विकासका लागि पूर्वाधारलगायतलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
नवौँ राष्ट्रिय खेलकुदका सन्दर्भमा बनेका तथा स्तरोन्नति गरिएका पूर्वाधारको संरक्षण गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए । नवौँ राष्ट्रिय खेलकुदलाई सम्पन्न गर्न खट्ने युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतलाई प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरे ।
यस राष्ट्रिय खेलकुदले खेल क्षेत्रका लागि विशष्ट योगदान गरेको बताउँदै उनले राष्ट्रिय खेलकुदलाई नियमित र व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए।
नवौँ राष्ट्रिय खेलकुदका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका खेलाडी निमिस थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा समवेदना पनि व्यक्त गरे ।











प्रतिक्रिया