
काठमाडौं, ३ कात्तिक । वीर अस्पतालले मिर्गौला रोगीको उपचारका क्रममा मिर्गौला निकालेर चिकित्सक भागेको घटनामा बिरामी र अस्पतालबीच सहमति भएको छ ।
अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको हो । बिहीबार दुई पक्षबीच भएको सहमतिमा बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निशुल्क गर्ने सहमति भएको छ ।
यस्तै, विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने र छानबिन समितिको प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने सहमति भएको हो ।
धादिङको गल्छी गाउँपालिका–२ की ३५ वर्षीया चमेली गैरेको मिर्गौलामा समस्या देखिएपछि प्रत्यारोपणका लागि वीर अस्पतालमा पुगेका थिए । उनलाई उनकी ५८ वर्षीया सासूले मृगौला दिएकी थिइन् ।
गत मंगलबार मृगौला प्रत्यारोपण गर्ने मिति तय भएसँगै चिकित्सकहरुले सासूको मिर्गौला निकालेका थिए । तर जब मिर्गौला निकालियो एकाएक चिकित्सकहरु प्रत्यारोपण गर्न नसक्ने भन्दै निकालिएको मिर्गौला यतिकै छाडेर भागेका थिए।
चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण गर्न लागिएकी बुहारी चमेलीको नसामा समस्या रहेको भन्दै निकालिएको मिर्गौलासमेत छाडेर भागेका थिए । जबकी प्रत्यारोपण गर्नुअघि सासू बुहारी दुवै जनाको अस्पतालले स्वास्थ्य परिक्षण गरेको थियो । परिक्षणका क्रममा दुवैको स्वास्थ्य अवस्था ठिक थियो । तर, अन्त्यमा मृगौला निकालिसकेपछि बुहारीमा प्रत्यारोपण गर्ने समयमा चिकित्सकहरु भागेका थिए ।











प्रतिक्रिया