
काठमाडौं, ३ कात्तिक । धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् ।
कोलकाताबाट लाखौँको तयारी माला तिहारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । ल्याइएका माला व्यावसायीहरुले धरान-१३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोरमा भण्डारण गरेका छन् ।
हाल एक लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला भारतबाट आउँदै गरेको व्यवसायीले कृषि उपजबजारलाई जानकारी गराएको उल्लेख गर्दै नेपाली बजारको फूलबाट एक लाख ५० हजारको माला आउन सक्ने बताए ।
यो वर्ष नेपालमा फूल फुल्ने समयभन्दा अघि नै तिहार आएकाले स्थानीय उत्पादनको फूल बजारमा कम आउने भएपछि व्यवसायीले तिहार अगाडि नै फूलको माला व्यवस्थापन गरेका हुन् ।
विगत वर्ष २५ प्रतिशत धरानमा भारतबाट फूलका माला आयात गरिँदै आएको थियो तर यस वर्ष भने ७५ प्रतिशत नै तयारी माला भारतबाट आउने सम्भावना रहेकोे व्यवस्थापक भट्टराईको भनाइ थियो ।
उहाँका अनुसार गत वर्ष रु एक करोड ६२ लाख फूलको व्यापार भएको थियो तर यस वर्ष दुई करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । “ती फूलका माला प्रतिगोटा ४०-५० पर्न सक्छ । नेपाल यस क्षेत्रमा समयमै फूल नफुलेकाले ती माला प्रतिगोटा एक सयसम्म पर्न सक्छ”, भट्टराईले भने।
बढी फूल उत्पादन हुने क्षेत्र धनकुटा, तेह्रथुम, सुनसरीको पानवारी, ठिङ्गाबारी, मोरङको केराबारीलगायत क्षेत्रमा सयपत्रीफूलका कोपिला मात्र बसेको छ । तिहार यही कात्तिक ५ गतेदेखि सुरु हुँदैछ । यो वर्षको तिहारलाई स्थानीयवासीले रोपेको फूलले काम नदिएको व्यवसायी विमल थापाले बताए ।











प्रतिक्रिया