
काठमाडौं, २ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेबिना देशको विकास र सम्वृद्धि सम्भव नभएको बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रुपन्देहीले आयोजना गरेको भेला तथा निर्वाचन परिचालन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सडक, सिंचाई, शिक्षा,स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले बुझेकाले एमालेको जीतलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।
उपाध्यक्ष पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रीम प्रोजेक्ट अगाडि सारेको बताउँदै ती प्रोजेक्टहरु अहिले कार्यान्वयन हुने चरणमा पुगेका बताए । उनले एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर एमालेको सरकार बनाउनुपर्नेमा जोड दिए ।
रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका उपाध्यक्ष पौडेलले देशभर एमालेको लहर चलेको मंसीर ४ को निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरे ।
उपाध्यक्ष पौडेलले एमालेलाई कतिपय पूर्वाग्रही विरोधीहरुले विकास विरोधी पार्टी भनेर प्रचार बताउदै त्यस्ता भ्रमलाई चिर्न एमालेले गरेका कामहरुको प्रचारप्रसार आवश्यक रहेको बताए ।











प्रतिक्रिया