शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

टिकटको विषयमा असन्तुष्टि बढेपछि माओवादी नेत्री खड्काले दिइन् पदबाट राजीनामा

दैनिक नेपाल २०७९ कार्तिक १ गते १९:०७

दोलखा, १ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि भएको टिकट वितरणको विषयलाई लिएर नेकपा माओवादी केन्द्र दोलखाको शीर्ष नेतृत्व तहमा असन्तुष्टि बढेको छ ।

दोलखाको टिकटको सन्दर्भमा पार्टी नेतृत्वले गलत निर्णय गरेको भन्दै जिल्लाको नेतृत्व तहमा असन्तुष्टि बढेको हो । पार्टी नेतृत्वले दोलखाको एक मात्र प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट पोलिटव्युरो सदस्य गंगा कार्की ‘विश्व’लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

माओवादी केन्द्र उच्च स्रोतका अनुसार सोही विषयलाई लिएर पार्टी नेत्री देवी खड्काले जिल्ला इञ्चार्जको पदबाट राजीनामा दिएकी छिन् । नेत्री खड्काले जिल्ला इञ्चार्जबाट राजीनामा दिएको पत्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइसकेकी छिन् ।

स्रोतका अनुसार उक्त राजीनामा पार्टी हेडक्वार्टरले स्वीकृत गरिसकेको भने छैन । विगतमा उम्मेदवार एवम् नेता कार्कीले पार्टी निर्माणमा असहयोग गरेको, आफूले गरेको निर्णयमा सार्वजनिक रूपमा बिरोध जनाएकोलगायत विषयलाई लिएर नेत्री खड्का पार्टीको निर्णयप्रति असन्तुष्ट रहेको बताइएको छ ।

पूर्वमन्त्री समेत रहेकी खड्का र कार्कीबीच साली र भेनाको नाता सम्बन्ध छ । तर, पार्टीभित्र उनीहरूबीच लामो समयदेखि पेचिलो अन्तरसंघर्ष चल्दै आएको छ । अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यको टिकट वितरणलगायत निर्णयहरूबारे खड्का र उम्मेदवार कार्कीबीच सार्वजनिक मञ्चहरूमै भनाभन हुने गरेको थियो ।

जिल्ला इञ्चार्जमा विशालको प्रचार

इञ्चार्ज देवी खड्काले पदबाट राजीनामा दिएसँगै निर्वाचनमा गलत सन्देश जाने भएपछि नेता विशाल खड्कालाई जिल्ला इञ्चार्ज र चुनावी कमाण्डरको रूपमा प्रस्तुत गर्दै प्रचार गरिएको छ । तर, उनको इञ्चार्जशीपबारे पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन ।

निर्वाचनको माहोलमा जिल्ला इञ्चार्ज परिवर्तन भएको समाचार सार्वजनिक भएपछि कार्यकर्ता शसंकित भएका थिए । माओवादी नेताहरूले भने जिल्ला इञ्चार्ज परिर्वतनको प्रचारलाई नेतृत्व हस्तान्तरणको रूपमा अर्थ्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित