
दोलखा, १ कात्तिक । नेकपा एमाले दोलखाले जिल्लामा निर्वाचन परिचालनका लागि पूर्वमन्त्री तथा पोलिटब्यूरो सदस्यद्वय आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङको कमाण्डमा ६ सदस्यीय उच्चस्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
सोमबार बसेको जिल्ला कमिटीको बैठकको निर्णय आज सार्वजनिक गर्दै जिल्ला अध्यक्ष तथा प्रदेश (क) का एमाले प्रदेससभा सदस्य उम्मेदवार समेत रहेका नरबहादुर श्रेष्ठले जिल्ला निर्वाचन परिचालनका लागि उच्चस्तरीय कमिटी गठन गरिएको जानकारी दिए ।
उक्त कमिटीमा पोलिटब्यूरो सदस्यद्वय पोखरेल र गुरुङसहित केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सरस्वती बस्नेत, जिल्ला अध्यक्ष तथा प्रदेश (क) का उम्मेदवार श्रेष्ठ, प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटी तथा प्रदेश (ख) का उम्मेदवार भरतबहादुर केसी छन् ।
निर्वाचन परिचालन विकेन्द्रित गर्दै जिल्ला कमिटीले प्रदेश (क) को नेतृत्व गर्ने जिम्मेवारी पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गुरुङ र प्रदेश (ख) मा पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पोखरेललाई दिएको छ ।

उच्चस्तरीय परिचालन कमिटीमा जिल्लासचिव हिरा थोकरले सचिवालय सचिवका रुपमा काम गर्ने छन् । त्यस्तै, जिल्ला अध्यक्ष श्रेष्ठको नेतृत्वमा १ हजार १ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी, प्रदेश (क) मा पूर्व जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य ईश्वरचन्द्र पोखरेल र प्रदेश खमा अर्का प्रदेश कमिटी सदस्य डबल पाण्डेको नेतृत्वमा बेग्लाबेग्लै परिचालन कमिटी गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै, पार्टी परिचालनको जिम्मेवारी केन्द्रीय सदस्य सरस्वती बस्नेत, जनसंगठन प्रचारको नेतृत्व केन्द्रीय सदस्य रचना खड्का, सामाजिक सांस्कृतिक क्षेत्रको संयोजन पूर्व सांसद शान्ति पाख्रिन, वित्तीय सहकारी परिचालनको संयोजन हेमन्त चौंलागाईंले गर्नेछन् ।
निर्वाचन प्रचार संयोजनको काम जिल्ला उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले गर्ने बताइएको छ । प्रचारप्रसारका लागि मानन्धरको नेतृत्वमा ५५१ सदस्यीय कमिटी निर्माण भएको छ ।
त्यस्तै, प्रदेश (क) का लागि ऋषिकेश उप्रेती र प्रदेश (ख) का लागि कुमार खड्काको नेतृत्वमा १५१ सदस्यीय अलग–अलग कमिटी गठन गरिएको पनि जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
एमाले दोलखाले आगामी ४ मंसिरको निर्वाचनलाई समग्र शक्ति प्रदर्शनको अवसरका रुपमा लिँदै एकल रुपमा जितेर पुनः बलियो शक्तिका रुपमा स्थापित हुनेगरी निर्वाचनमा होमिने निर्णय लिएको छ ।















प्रतिक्रिया