१ कार्तिक २०८३, आइतबार

एपीएफ क्लबकी विन्द्रा श्रेष्ठले जितिन् महिला म्याराथनको स्वर्ण, अरु को–कसले के–के जिते ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ कात्तिक । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला म्याराथनको स्वर्ण विभागीय टोली एपीएफ क्लबकी विन्द्रा श्रेष्ठले जितेकी छन् ।

पोखरा रंगशालामा मंगलबार सम्पन्न म्याराथनमा बिन्द्राले निर्धारित दूरी २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

उनले म्याराथनमा प्रतिस्पर्धा गरेको पहिलो पटकमै स्वर्ण जित्न सफल भएकी हुन् । आर्मीकी विश्वरुपा बुढाले ३ घण्टा ००.३५ सेकेन्डमा दूरा पूरा गर्दै जरत जितिन् । पुलिसकी रेखा बिष्टले ३ घण्टा ०१.३५ सेकेन्ड समय निकाल्दै कास्य जितिन् ।

त्यस्तै पुरुषतर्फ गण्डकीका धावक अनिश थापामगरले म्याराथनमा स्वर्ण जितेका छन् । पहिलोपल्ट राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने क्रममा २ घन्टा २२ मिनेट ५४ सेकेन्डको टाइमिङ लिएका थिए । आर्मीका धावक कृष्ण बस्नेत र एपीएफका सन्तोषविक्रम विष्टले रजत र कांस्य पदक जिते ।

त्यस्तै आर्मीका सोमबहादुर कुमाल र एपीएफकी रमिता थारुले नवौं राष्ट्रिय खेलकुदमा ४०० मिटर दौडमा स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ सोमबहादुरले ४७.९५ सेकेन्डबाट दूरी पार गर्दै स्वर्ण जिते । उनले यसअघि ४८.२ सेकेन्डको आफ्नै नामको ह्यान्ड टाइमको राष्ट्रिय कीर्तिमानमा सुधारेका छन् ।

एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत जित्दा आर्मीका प्रकास दनुवारले ४९.९० सेकेन्डको समय निकाल्दै कास्य हात पारे । महिलातर्फ रमिताले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्ने क्रममा निर्धारित दुरी ५८.१० सेकेन्डमा पूरा गरिन् ।

रमिताले तुलसा खत्रीको नाममा रहेको ५९.५८ सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडेका हुन् । महिलातर्फ आर्मीकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेन्डमा पूरा गर्दै रजत जितिन् । कास्य जितेकी एपीएफकी कल्पना श्रेष्ठले १.००.७० सेकेन्डमा दौड पूरा गरिन् ।

त्यस्तै महिला लङजम्पमा आर्मीकी जयरानी थारुले अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । महिला लङजम्पमा थारुले ५ दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । लुम्बिनीकी निशा चौधरीले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरिन् ।

एपीएफ क्लबकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य पदक प्राप्त गरिन् । पुरुष लङजम्पमा सलिम देवानले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् ।

देवानले २३ वर्ष पुरानो कीर्तिमान भंङ्ग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । पुलिसका देवानले ७.०६ मिटर जम्प गर्दै स्वर्ण हात पारेका थिए । आर्मीका डिल्ली खत्रीले ६.९८ मिटर जम्प गर्दै रजत जित्दा गण्डकीका नारायण चौधरीले ६.८२ मिटर जम्प गर्दै काश्य हात पारेका छन् ।