
काठमाडौं, ३१ असोज । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरु तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ ।
सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन् ।
उनले उम्मेदवारहरुले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरेका छन् ।
उनले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरुलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे । सम्बन्धित उम्मेदवारले व्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिन्हको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहीतामा उल्लेख भएकाले सोही अनुरुप काम गर्न पनि आग्रह गरेका छन् ।
त्यस्तै, उनले कुनै पनि बहानामा भोजभतेर गराउन नपाइने बताएका छन् । उनले खेलकुद, पुरस्कार वितरण लगायतका कार्यक्रमहरुमा राजनीतिक आवद्धता देखाउनु नहुने पनि उल्लेख गरे ।
सचिव दुवाडीले सरकारी कर्मचारीले कुनै पनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जायर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिएमा सो कार्य रोक्न लगाउनुपर्ने बताए । उनले सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि आचारसंहीता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने बताए ।
उनले प्रमुख जिल्ला अधिकारीलाई अप्ठरो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्नपनि अनुरोध गरेका छन् ।
उनले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न आग्रह गरे । जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरिय समितिको व्यवस्था भएको र सोही समिति अन्तर्गत मतदाता शिक्षाको काम अगाडी बढाउनुपर्ने बताए ।
त्यस्तै, कर्मचारीहरुलाई निर्वाचनमा स्वच्छता कायम गराउन चुकेको आरोप लाग्ने गरेको भन्दै उनले त्यस्तो आरोपबाट मुक्त हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।
उनले कसैले निर्वाचनमा खलल पुग्नेखालको गतिविधि गरेमा कानूनी अधिकार प्रयोग गरी नियन्त्रण गर्न र कारबाहीको दायरमा ल्याउन निर्देशन दिए । सचिव दुवाडीले यसरी नियन्त्रण तथा कारबाही गरेका कुराहरु नागरिकसम्म पुर्याउन समाचार सम्प्रेषणमा ध्यान दिन पनि आग्रह गरेका छन् ।















प्रतिक्रिया