२ कार्तिक २०८३, सोमबार

ओनसरीलाई ढाडस दिन काठमाडौं–२ पुगेका शेरबहादुर, प्रचण्ड र माधवले के भने ?

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । गठबन्धनबाट काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभाको उम्मेदवार बनेकी माओवादी नेत्री ओनसरी घर्तीलाई चुनावी आडभरोसा दिन आइतबार गठबन्धन दलका तीन जना शीर्ष नेता एउटै मञ्चमा भेला भए ।

सो क्षेत्रको चुनावी परिचालन समिति बनाउन आज वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधव कुमार नेपाल सहभागी थिए ।

कार्यक्रममा शेरबहादुर देउवाले अहिले कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धनलाई मिलाएर लानुपर्ने आवश्यकता रहेको बताए । लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्दै गठबन्धनलाई मिलाएर अघि बढ्नुको विकल्प आफूहरूसँग नभएको उनको भनाइ छ ।

उनले मिलेर चुनाव लड्ने संस्कृतिको विकास भएको र मिलेर देशको गरिबी हटाउने दाबी समेत गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको रक्षा स्थिरता र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको औंल्याए । विकास निर्माण र समृद्धि नै अबको मुख्य एजेण्डा हुने जिकिर गर्दै उनले गठबन्धन दलमा रहेकाले एक अर्कालाई स्विकारिसकेका बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन एक भएर अघि बढेका कारण मुलुक सहि ढंगले अघि बढेको दाबी गरे ।

कार्यक्रममा काठमाडौं–२ की उम्मेदवार ओनसरी घर्तीले आफु अव पाँच बर्ष काठमाडौंको जनताप्रति समर्पित हुने बताइन् ।