
काठमाडौं, २९ असोज । नेकपा एमाले बिगु गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चले पालिकाकेन्द्रित निर्वाचन परिचालन र प्रचार कमिटी गठन गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेले खडा गरेको सूर्य ध्वजावाहक उम्मेदवारहरूलाई विजयी बनाउने उद्देश्यसहित सो कमिटी गठन गरिएको पालिका सम्पर्क मञ्चका अध्यक्ष ओमकृष्ण आचार्यले बताए ।

उनका अनुसार शनिबार काठमाडौंमा बसेको पालिका सम्पर्क मञ्चको विस्तारित बैठकले अध्यक्ष आचार्य स्वयम्को नेतृत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिर्टी गठन गरिएको हो । सो कमिटीभित्र ९ सदस्यीय सचिवालय पनि बनाइएको छ ।
बैठकबाट प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीका उपाध्यक्ष समेत रहेका ज्योति जीसीको नेतृत्वमा पाँच सदस्यीय प्रचार कमिटी पनि निर्माण गरिएको छ ।

बैठकका वक्ताहरूले विगतमा एमालेका नेता–कार्यकर्ताबाट भएका कमीकमजोरीका कारण दोलखामा पार्टीले अमूल्य क्षति व्यहोर्नुपरेको बताउँदै आगामी निर्वाचनमा एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनीहरूले दोलखाको तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरूले जित हासिल गर्ने दाबी गरेका छन् ।

दोलखामा दीर्घकालीन विकास निर्माणका जे–जति कामहरू भएका छन् ती सबै एमालेकै नेतृत्वमा सुरू र सम्पन्न भइरहेको उनीहरूको जिकिर छ । एमाले नेता लालकुमार केसी जिल्ला विकास समितिको सभापति हुँदा निर्माण गरिएको विकासको ढाँचाबमोजिम नै अहिले दोलखामा विकास निर्माणका कामहरू भइरहेको र त्यो नै दोलखा समृद्ध बनाउने आधार भएको वक्ताहरूको भनाइ थियो ।
पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टी केन्द्रीय सदस्य एवम् दोलखा इञ्चार्ज सरस्वती बस्नेत विशेष अतिथि थिइन् ।

यसैगरी बैठकमा वागमती प्रदेश कमिटीका सदस्य कृष्ण भुजेल र शारदा राना, वागमती प्रदेश सम्पर्क कमिटीका सचिवालय सदस्य एवम् दोलखा–काडमाडौं सम्पर्क मञ्चका इञ्चार्ज अमृत खड्का, दोलखा जिल्ला कमिटी सदस्य एवम् निर्माण सामग्री व्यापार संघ काठमाडौंका अध्यक्ष अचुतम केसी (कटवाल), जिल्ला कमिर्टी सदस्य एवम् सम्पर्क मञ्चका इञ्चार्ज गणेश शिबाकोटी, जिल्ला कमिटी सदस्य छिरिङ वाङ्दे शेर्पा, दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष शेखर बस्ने र सचिव उमेश खड्का, खेलकुद महासंघका प्रवक्ता एवम् जिल्ला कमिटी सदस्य तीर्थ खड्का तथा नेकपा एमालेका नेता ईश्वर खड्कालगायतको उपस्थिति थियो ।
विस्तारित बैठक सम्पर्क मञ्चका सदस्य नारद खड्काले सञ्चालन गरेका थिए ।















प्रतिक्रिया