
धरान, २८ असोज । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले राष्ट्रिय आवश्यकताले नेकपा एमाले र जसपाबीच सहकार्यको जन्म भएको बताएका छन् ।
दुई पार्टीको चुनावी तालमेलपश्चात् संयुक्त रुपमा धरानमा आज गरिएको पत्रकार सम्मेलनमा नेता राईले सत्ता गठबन्धनबाट देशको समृद्धि र राष्ट्रियताको रक्षा नहुने बताएका छन् । गठबन्धनबाट राष्ट्रियताको रक्षा नहुने देखेपछि जसपाले नेकपा एमालेसँग चनावी तालमेल गरेको उनको भनाइ छ ।
जसपा सम्मिलित केपी ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई सार्थकता दिन सहकार्य भएको दाबी पनि उनले गरेका छन् । यो सहकार्य निर्वाचनपश्चात पनि निरन्तर रहने बताउँदै उनले मुलुकको हितका लागि दुई पार्टीको सहकार्य अनिवार्य भएको जिकिर गरेका छन् ।
सुनसरीको निर्वाचन क्षेत्र नं. १ लाई संघीय सरकारसँग प्रत्यक्ष जोड्ने काम गर्ने र धरान, बराक्षेत्र र रामधुनीलाई धार्मिक पर्यटकीय सर्किटका रुपमा विकास गर्न संघ र प्रदेशबाट पहल गर्ने राईले बताएका छन् ।
नेकपा एमालेले सधैं जितिरहेको क्षेत्रमा उम्मेदवार हुन किन आउनुपर्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता राईले नेकपा एमाले र जसपाको सहमतिका आधारमा आफू उम्मेदवार बनेको बताए । उनले आफू २०७४ सालको निर्वाचनमा पराजित भएपश्चात पनि निरन्तर धरानमा रहेर विभिन्न सामाजिक काम, राजनीतिक काम तथा संघ संस्थाका गतिविधिमा संलग्न भएको बताएका छन् ।















प्रतिक्रिया