२ कार्तिक २०८३, सोमबार

तनहुँ–२ को (क) मा राजेन्द्र केशरी न्यौपाने कि श्यामराजा महत ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २७ असोज । आम निर्वाचन नजिकिदै जाँदा तनहुँमा राजनीति सरगर्मी बढेको छ ।

तनहुँको क्षेत्र नं २ को प्रदेश (क) मा गठबन्धनको तर्फवाट नेकपा (माओवादी केन्द) को राजेन्द्र केशरीले उम्मेदवारी दिएका छन भने नेकपा (एमाले) को तर्फबाट श्यामराजा महतलाई मैदानमा उतारेको छ ।

०७४ को आम निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार आशा खनालले नेपाली काँग्रेसका उम्मेदवार धुव्र वाग्लेलाई झिनो मतले पाजित गरेकी थिइन् । तर, आगामी निर्वाचनमा उक्त क्षेत्रमा कसले बाजी मार्ने हो चासो र उत्सुकताको विषय बनेको छ ।

०७४ को आम निर्वाचनमा वाम गठबन्धनले झिनो मतले जितेको क्षेत्रमा अहिले नेपाली काँग्रेस र माओवादी केन्द्रलगायत दलहरूको गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता राजेन्द्र केशरी न्यौपाने चुनावी मैदानमा उत्रिएका छन् ।

विगतमा एमालेले माओवादीसँग गठबन्धन गर्दा थोरै मतले मात्र हार बेहोरेको नेपाली काँग्रेसले अहिले माओवादी केन्द्रसँग तालमेल गर्नु र सो क्षेत्र पुनः माओवादीको भागमा नै पर्नुले जितिन्छ भन्ने सोचमा छ ।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र केशरी न्यौपाने लामो समय शिक्षण पेशामा लागे । माओवादीको शिक्षण मोर्चामा आवद्ध रहँदा पटक–पटक जेल परेका न्यौपाने २०५५ सालमा जेलमा परे । २०५८ सालदेखि भूमिगत भएका न्यौपाने त्यस अवधिमा जनअदालतको प्रमुख बनेका थिए ।

०५८ देखि ०६० सालसम्म जनसत्ताको न्यायलय प्रमुख भएर काम गरेका न्यौपाने माओवादीको जिल्ला सदस्य, हुँदै अहिले केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका न्यौपाने नवीन उपभोक्ता सहकारीका अध्यक्ष, जिल्ला उपभोक्ता सहकारीको अध्यक्ष, ०६८ सालमा दमौली अस्पताल विकास समितिका अध्यक्ष बनेर काम गरिसकेका छन् । संसदीय निर्वाचनमा पहिलो पटक होमिएका न्यौपाने समाजवाद उन्मुख समृद्ध योजना नै आफ्नो उद्देश्य भएको बताउँछन् ।

वाम गठबन्धनबाट जित हासिल गरेको नेकपा (एमाले) यो क्षेत्रमा आफ्नो विराशत पुनः जोगाउने अभियानमा कम्युनिष्ट आन्दोलनका अध्येता श्यामराजा महतलाई चुनावी मैदानमा उतारेको छ ।

२०३४ सालमा नै कम्युनिष्टको सदस्यता लिएर परिवर्तनका आन्दोलनमा होमिएका महत २०४४ सालमा भएको उपनिर्वाचनमा नै राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा पराजय भोगेका थिए । २०४२ सालमा नै प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल जीवन बिताएका महत २०५४ सालदेखि ०५९ सालसम्म नगर उन्मुख नमूना ढोरफिर्दी गाविसको अध्यक्ष बनेर काम गरे ।

नेकपा माले, मानन्धर समूह हुँदै ४ पटक जिल्ला कमिटी सदस्य बनेर पार्टी काम गरेका महत हाल नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सदस्य छन् । २०४९ सालमा रामचन्द्र पोख्रेल जिल्ला विकास समितिको अध्यक्ष हुँदा श्यामराजा महत जिल्ला विकास समितिमा निर्वाचित सदस्य थिए ।

लामो समयसम्म राजनीति र जनप्रतिनिधिको रूपमा काम गरेका महत कम्युनिष्ट आन्दोलनको नेतृत्वमा रहेर काम गरेका नेता हुन् । २०३९ सालमा नै साझा सहकारीको अध्यक्ष बनेर सामाजिक क्षेत्रमा क्रियाशील बनेका महतले धेरै सामाजिक संघसंस्थामा नेतृत्व गरिसकेका छन् ।

जीवनको उर्वर समय नै नेपालको कम्युनिष्ट आन्दोलन, वर्ग विभेदविरुद्धको आन्दोलनको नेतृत्व, पञ्चायतविरुद्धको आन्दोलन, समाजिक संघ संस्थामा योगदान, ढोरफिर्दी गाविसको अध्यक्ष, जिल्ला विकास समिति सदस्य बनेर गरेको कर्म नै आफ्नो पहिचान भएको उम्मेदवार महत बताउँछन् ।

गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ को प्रदेश (क) मा कम्युनिष्ट आन्दोलनको नेतृत्वकर्ता राजेन्द्र केशरी न्यौपाने र लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका समाजिक अभियन्ता, जनप्रतिनिधि समेत बनेर जनताको काम गरेका श्यामराजा महतको चुनावी प्रतिस्पर्धा निकै पेचिलो हुने देखिएको छ ।