
काठमाडौं, २५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै एमाले छोडेका घनश्याम भुसाल टिकटका लागि मात्रै एमालेमा बसेको पुष्टि भएको बताएका छन् ।
बलिदानीको बाटो समाएर देशप्रति समर्पित हुनुपर्नेमा एक पटक टिकट नपाउँदैमा पार्टी नै छोड्नुपर्ने कुनै कारण नभएको अध्यक्ष ओलीको भनाइ छ ।
‘उहाँ (घनश्याम भुसाल) त खाली टिकटको लागि एमालेमा बस्नुभएको रहेछ यसको मतलव । पार्टीमा हामी त बलिदान दिएर, बलिदानको बाटो लिएर हिँडेको मान्छे, देशका लागि समर्पित भएर हिँडेको मान्छे,’ ओलीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भने, ‘टिकटको परिकल्पना समेत थिएन जतिबेला हामी संघर्ष गरिरहेका थियौँ ।’
ओलीले अगाडि भने, ‘हामी जेलनेल बसिरहँदा, भूमिगत रुपमा काम गरिरहँदा, निर्वासनमा रहँदा, संघर्षमा हुँदा हामीले यस्ता टिकटका कुनै सपना पनि देखेका थिएनौँ । सम्भावना पनि देखेका थिएनौँ । त्यसरी संघर्षबाट हामी आएका हौँ । अब त्यसरी संघर्षबाट नआउँदा ख्याल ख्यालको विषय लागेको हुनसक्छ र आवेशमा पार्टी परित्याग गरेको हुनसक्छ ।’
एमालेप्रति लगाव नभएर वा पार्टी नराम्रो लागेर पनि उनले पार्टी छोडेको हुनसक्ने बताउँदै ओलीले भने, ‘एमालेप्रति उहाँलाई त्यति लगाव रहेन होला, पार्टी राम्रो लागेन होला, त्यसकारण छोड्नुभयो होला यो उहाँको वैयक्तिक स्वतन्त्रता पनि हो ।’
नौ लाख सदस्यमध्ये एकाध सदस्यले पार्टी परित्याग गर्नुलाई ठूलो विषय बनाउन नहुने ओलीको भनाइ छ । ‘यस्तो निर्वाचनका बेला, उम्मेदवारीका बेला अलिकति मान्छेहरूमा तनाव, अलिक आवेग, अलिक संवेदनशीलता यस्ता कुराहरू कहिले–कहिले आउने गर्छन त्यसलाई धेरै अनौठो रुपमा लिन हुँदैन,’ ओलीले भने ।















प्रतिक्रिया