२ कार्तिक २०८३, सोमबार

सर्लाहीका दम्पतीको लमजुङमा लेक लागेर मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सर्लाही, २५ असोज । सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उनकी श्रीमती २६ वर्षीया शर्मिला तामाङको मेमेपोखरी घुमेर फर्किने क्रममा लेक लागेर यही असोज १९ गते दसैँको टीकाको राति मृत्यु भएको हो ।

योञ्जन दम्पतीको शव सोमबार सर्लाही ल्याइएको छ । दोर्दी र मस्याङ्दी गाउँपालिकाको सीमा क्षेत्रमा करिब तीन हजार नौ सय मिटर उचाइको स्याङ्बोमा लेक लागेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।

योञ्जन दम्पतीसँगै गएका बेंसीसहर नगरपालिका–१०, साँधुका १८ वर्षीय करण तामाङको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

करिब चार हजार मिटर आसपास जुम्रोडाँडा क्षेत्रमा ढलेका योञ्जन भोलिपल्ट बिहीबार मृत भेटिएका थिए । उनकी श्रीमती भने हराइरहेकी थिइन् । उनको शव शनिबार फेला परेको थियो ।

लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने मेमेपोखरी पुग्न लमजुङ सदरमुकाम बेंसीसहरबाट कम्तीमा तीन दिन लाग्छ ।