१ कार्तिक २०८३, आइतबार

रुसी आक्रमणमा ११ जनाको मृत्यु, पुटिनद्वारा कीभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने चेतावनी 

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अबु धाबी, २५ असोज । युक्रेनमा सोमबार भएको रूसी आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको राष्ट्रिय प्रहरी सेवाले जनाएको छ । “युक्रेनको भूमिमा रुसी महासंघले गरेको क्षेप्यास्त्र आक्रमणका कारण अहिलेसम्म कम्तीमा ११ जनाको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका छन्,” राष्ट्रिय प्रहरी सेवाले फेसबुकमा जारी गरेको विज्ञप्तिमा भनिएको छ । “रुसी आक्रमणबाट परेको प्रभावको प्रमाण सङ्कलन गर्ने काम भइरहेको छ ।

युक्रेनको राजधानी कीभमा सोमबार बिहानै रूसले आक्रमण गरेको थियो । कीभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणमा परी राजधानीमा मात्र कम्तीमा ५ जनाको मृत्यु भएको छ । “कीभमा रकेट आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । ५१ जना घाइते भएका छन् । तीमध्ये ४२ जनालाई अस्पताल भर्ना गरिएको छ,” क्लिट्स्कोले सामाजिक सञ्जालमार्फत सार्वजनिक एक भिडियोमा भनेका छन् ।

युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलका अनुसार सोमबारको आक्रमणमा कीभ र आठ क्षेत्रमा ११ वटा महत्वपूर्ण पूर्वाधार संरचनामा क्षति पुगेको छ । “अस्थायी विद्युत्, पानी र सञ्चार कटौतीका लागि तयार हुन आवश्यक छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् । मस्कोले कीभलाई दोषी ठह¥याएको रसिया र क्रिमिया जोड्ने पुलमा ठूलो विस्फोट र क्षति भएको दुई दिनपछि युक्रेनको सेनाले रुसले युक्रेनमा ८४ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

पुटिनद्वारा कीभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने चेतावनी 

यसैबीच, रुसी सेनाले युक्रेनमा सोमबार बिहानै घातक बमबारी गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने चेतावनी दिएका छन् ।

युक्रेनमा सोमबार भएको महिनौँयताकै सबैभन्दा ठूलो हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यो सप्ताहन्तमा रूसलाई मस्कोसँग जोडिएको क्रिमियाली प्रायद्वीपसँग जोड्ने एउटा महत्वपूर्ण पुलमा क्षति पु¥याएको विस्फोटको प्रतिशोध थियो ।

युक्रेनी सेनाले देशका विभिन्न शहरमा रूसी सेनाल ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको र रूसले छिमेकी बेलारूसबाट प्रक्षेपण गरिएका इरानी ड्रोनपनि प्रयोग गरेको जनाएको छ । पुटिनले आफ्नो सुरक्षा परिषद्लाई टेलिभिजनमार्फत सम्बोधन गर्दै भने, “यसमा कुनै शङ्का नहोस्, यदि ‘आतङ्कवादी हमला’को प्रयास जारी रह्यो भने रूसको प्रतिक्रिया कडा हुनेछ ।” पुटिनका पूर्ववर्तीसमेत रहेका नेता दिमित्री मेदभेदेभले सामाजिक सञ्जालमार्फत युक्रेनमा पानी र बिजुली सेवा अवरुद्ध पार्ने आक्रमण सुरूवात मात्र भएको चेतावनी दिएका छन् । रूसको रक्षा मन्त्रालयले युक्रेनी ऊर्जा, सैन्य कमाण्ड र सञ्चार केन्द्रलाई निशाना बनाएको पुष्टि गर्दै आक्रमण सफल भएको र ’आफ्नो उद्देश्य हासिल गरेको’ दाबी गरेको छ ।

नागरिक लक्षित आक्रमण भएको यूक्रेनी दावी

आक्रमण र त्यसपछिको वातावरणबारे बताउँदै ३९ वर्षीया भाषा शिक्षक केसेनिया रयाजानसेवाले एएफपीसँग भने, “जब हामीले पहिलो विस्फोटको आवाज सुन्यौं त्यतिबेला हामी सुतिरहेका थियौं । हामी उठेर हेर्न गयौं र त्यसैबेला दोस्रो विस्फोट भयो ।

उनले भने, “यहाँ कुनै पनि सैन्य लक्ष्य वा त्यस्तो केही छैन । यो त केबल युक्रेनी निहत्था नागरिकमाथिको आक्रमण हो ।” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको उद्देश्य युक्रेनी ऊर्जा पूर्वाधार ध्वस्त पार्नु रहेको बताउनुभएको छ । देशभरका क्षेत्रीय अधिकारीहरूले सेवाहरूमा व्यापक अवरोध भएको पुष्टि गरेका छन् । एएफपी