२ कार्तिक २०८३, सोमबार

घर र भवनको नक्सा पास गर्न महानगरले दियो १०० दिनको समयसीमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ असोज । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ ।

महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सय दिनभित्र नक्सा पेश गरी स्वीकृत गर्न महानगरवासीलाई आग्रह गरेको छ ।

‘विराटनगर महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएको (तल्ला थपको नक्सा पास नगरेको समेत) र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सूचना प्रकाशित भएको मितिले सय दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमित गर्न सम्बद्ध सबै व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायलाई अनुरोध छ,’ महानगरको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनको विवरण सङ्कलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही भई जाने ब्यहोरा सूचित गरिन्छ ।’

महानगर प्रमुख नागेश कोइरालाको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसँगै सुशासन, महानगर सरसफाइ, फुटपाथ खाली, नाला सफाइ, डुबान समस्या समाधानलगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाइएको छ । महानगरभित्र धेरैले नक्सा पास नगरी घर र भवन बनाएको पाइएको मेयर कोइरालाले बताए । उनले राज्यले तोकेको कानुनको परिधिभित्र सबै आउनुपर्नेमा जोड दिए ।

‘हामीले सय दिने सूचना जारी गरेका छौँ,’ प्रमुख कोइरालाले भने, ‘सूचनाअनुसार सबै नक्सा पास नगरेका घर र भवनको नक्सा पास गर्नुहुनेछ ।’ महानगरका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले एक तले घर र भवनको नक्सा पास गरेर तीन÷चार तलेसम्म बनाएको पाइएको बताए । उनका अनुसार त्यस्ता घरधनीका लागि पनि यो सूचना हो । यसअघि असोज १४ गते महानगरले सीमा पर्खाल नियमित गर्न र अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सूचना प्रकाशित गरिसकेको छ । रासस