
काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि एकपछि अर्को विवादमा फस्दै गएको छ ।
अमेरिकी सहयोगको एमसीसी पारित गर्नेदेखि नागरिकता विधेयक लागू गराउन खोज्नेसम्मका देउवा सरकारका हर्कतलाई स्वतन्त्र नागरिकले समेत ठीक मानेका छैनन् । यस्तै बेला चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई हत्कडी लगाएर विमानस्थलबाट पक्राउ गर्ने सरकारी रवैयाको समेत आलोचना हुन थालेको छ ।
बलात्कारको आरोप लागेर विदेशबाट आफैं स्वदेश फर्किंदै अनुसन्धानमा सहयोग गर्ने घोषणा गरिसकेका लामिछानेलाई हत्कडी नै लगाउनु सरकार र प्रहरीको रवैया ठीक नभएको सर्वसाधारणको ठम्याइ छ ।
यसअघि पूर्व सभामुख कृष्णबहादुर महरा, नेपाली कांग्रेसका नेता आफ्ताब आलम पक्राउ गर्दा हत्कडी नलगाएको तस्वीर सार्वजनिक गर्दै सर्वसाधारणले लामिछानेलाई मात्रै हत्कडी लगाएकोप्रति असन्तुष्टि जनाएका छन् । खेलमार्फत देशका लागि योगदान गरेका लामिछानेमाथि अत्याचारपूर्ण व्यवहार गरिएको नेपालीलाई मन परेको छैन ।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेलगत्तै लामिछानेलाई प्रहरीले पक्राउ गरी हत्कडी लगाएको थियो । हत्कडीमाथि रुमाल राखेर लामिछानेले लुकाउने प्रयास गरेपनि तस्वीरहरूमा हत्कडी देखिएको छ ।












प्रतिक्रिया