शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बहुउपयोगी ‘शेर्पा भाषा एप्स’तयार

लाक्पाजी शेर्पा २०७९ असोज १५ गते १८:५६

काठमाडौं, १५ असोज । शेर्पा भाषा सिकाई, प्रयोग र अनुवादलाई सहज बनाउने हेतुले निर्माण भएको ‘शेर्पा भाषा एप्स’ धर्मगुरुबाट सार्वजनिकगर्ने तयारी गरेका छन् ।

विश्व शेर्पा संघले राजधानीको एक होटेलमा आयोजना हुने कार्यक्रमका बीच एप्सलाई सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

अक्टोबर ८ अर्थात् असोज २२ गते साँझ एक कार्यक्रम गरी संघले भाषा एप्लिकेशनलाई सार्वजनिक गर्ने तयारी गरेको अध्यक्ष आङदोर्जी लामा शेर्पाले जानकारी दिए । ‘प्रसिद्ध धर्मगुरुको बाहुलीबाट हामी एप्सलाई सार्वजनिक गर्दै छौं । निर्वाचन नजिकिँदो अवस्थामा रहेकाले धर्मगुरुबाट एप्सलाई सार्वजनिक गर्न लागेका हौँ,’ अध्यक्ष शेर्पाले भने ।

विश्वभरका शेर्पाहरूलाई कार्यक्रममा जोड्ने तयारी भएको बताउँदै अध्यक्ष शेर्पाले जसका लागि भर्चुअल माध्यम प्रयोग गर्ने जानकारी दिए । अमेरिका, बेलायत, युरोपलगायत अन्य मुलुकका शेर्पाहरू जुममार्फत जोडिने र नेपालमा भने भौतिक उपस्थितिमा कार्यक्रम सम्पन्न गर्न लागेको जनाएको छ ।

कार्यक्रममा नेपाल शेर्पा संघको समन्वयात्मक भूमिका निर्वाह गर्ने र कार्यक्रम सफल बनाउन किदुग, विभिन्न संघसंस्था, भातृ संस्थाहरूलाई आग्रह गरेको संघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । शेर्पा भाषाको संरक्षण, विकास र विस्तारका लागि मोबाइल एप्लिकेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

भाषा सिक्न, प्रयोग गर्न, उच्चारणको शैली सिक्ने समेत एप्लिकेशनमा फिचरहरू राखिएको छ । त्यस्तै शेर्पाहरूको विवाह, जन्मलगायत सामाजिक संस्कारका विषयमा एप्लिकेशनमा पढ्न सकिन्छ । एप्सलाई सरल र सहज रूपमा प्रयोगका लागि उच्च प्रविधि अपनाइएको जनाएको छ ।

एप्सले युवाहरूलाई भाषा सिक्न सहज हुने र आम शेर्पा समुदायमा भाषा शैलीमा एकरूपता ल्याउन सहयोग पुग्ने सम्बद्ध पक्षको भनाइ छ । एप्स निर्माणका लागि विभिन्न देशमा बसोवास गर्ने शेर्पा समुदायहरूले आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित