२ कार्तिक २०८३, सोमबार

कांग्रेस नेता डा. पोखरेलको घोषणा– प्युठानमा राष्ट्रिय जनमोर्चालाई मत माग्दिन

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, १५ असोज । गृहजिल्ला प्युठानमा टिकट दाबी गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल यसपाली प्रतिनिधि सभाको दौडबाट बाहिरिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउबालाई मनाएर आफू गठबन्धनको साझा उम्मेद्वार बन्ने नेता पोखरेलको धोको थियो । तर, लामो समयको प्रयासमा पनि उनी सफल हुन सकेनन् ।

प्युठानबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेदवार बनाउनेगरी गठबन्धनमा सहमति भइसकेकाले उम्मेदवार वनेर चुनाब लड्ने पोखरेलको सपना चकनाचुर भएको हो ।

पोखरेललाई कांग्रेसभित्र पनि टिकट पाउनुपर्ने चर्को दबाब छ । डा. शेखर कोइराला पक्षका पोखरेललाई प्यूठानमा देउवा पक्षको समेत साथ छैन ।

सामाजिक सञ्जालमार्फत पोखरेलले आफू रुख चिह्न लिएर उम्मेदवार भई प्यूठान आउने सम्भावनामाथि प्रश्न चिह्न लागेको उल्लेख गरेका छन् । तर, औपचारिक समाचार नआउँदासम्म सम्भावना कायमै रहेको समेत उनले प्रतिक्रिया दिए ।

पोखरेलले गठवन्धनबाट राष्ट्रिय जनमोर्चाले टिकट पाए आफूले रुख चिह्नमा मात्र मत माग्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत बाहिर आएका गठवन्धनका समाचार सहि भएमा प्यूठानी जनताका बीच रुख चिह्नमा पार्टी र पार्टीको उम्मेदवारलाई मात्र मत माग्न आउने उनले लेखेका छन् । उनले राजमो र त्यसको चुनाव चिह्न गिलासमा भोट नमाग्ने बताएका हुन् ।

‘मलाई प्यूठानमा संघीय उम्मेदवार हुनुहोस् भन्ने धेरै शुभेच्छुक र साथीहरुको प्रस्तावमा म पार्टीको केन्द्रीय सदस्य भएकाले गम्भीर छु,’ उनले लेखेका छन्, ‘तर प्रस्तावलाई सकारात्मक रुपले लिएर उपायहरु खोज्दै छु । यस बीचमा केही नयाँ परिदृष्यको विकास भएमा अवश्य जानकारी गराउने छु ।’

पोखरेल ०७४ सालको निर्वाचनमा राजमोकी दुर्गा पौडेलसँग नै पराजय भएका थिए । पोखरेलले ०७४ मा ३१ हजार २८६ र तत्कालीन बामगठबन्धनबाट पौडेलले ४७ हजार ५१४ मत पाएकी थिइन् ।

यसअघि जिल्लाका काँग्रेस नेताहरूले जिल्लामा राजमो चौथो दल भएकाले नेतृत्व आफैले पाउनुपर्ने निर्णय केन्द्रीय समितिलाई पठाइसकेका छन् ।

यस्तो छ उनको घोषणा

प्युठानका धेरै साथीहरुको फोनको स्पष्ट जवाफ दिन गाह्रो भएको धेरै दिन भयो। राजनीतिक रुपले बिभिन्न्न दिशामा फर्केका दलको चुनावी गठवन्धनको रस्साकसि चलेकै छ। प्रारम्भिक सुचना अनुसार प्युठानको संघीय प्रतिनिधिसभाको उम्मेदवार गठवन्धनका तर्फवाट राष्ट्रिय जनमोर्चाले पाउने अनुमान गर्न सकिन्छ। प्युठानवाट संघमा प्रत्यक्ष उम्मेदवारका लागि नेपाली काग्रेस प्युठानले मेरो, दुईजना पुर्व सभापति( सुवासजी, अमरजी), पुर्व जिल्ला सचिव (शिवजी) लगायत ६ जनाको नाम सिफारिस गरेको थियो। २०७४ को संघीय निर्वाचनमा वाम गठवन्धनको तर्फवाट राजमोकी नेतृ दुर्गा पौडेलले नेपाली काग्रेसको उम्मेदवार मलाइ पराजीत गर्नु भएको थियो। अहिले उहानै नेका-वाम गठवन्धनवाट फेरि उम्मेदवार हुने चर्चा छ। यस पटक उहा हामीसंग गठवन्धन गरि २०७४ को गठवन्धनको सबै भन्दा ठुलो दल एमाले संग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यी सबै परिदृष्य अहिले गठवन्धनको रस्साकस्सी चलिरहदा वाहिर अनौपचारिक रुपमा आएका समाचारका आधारमा गरिएका अनुमानहरु हुन।
म २०७४ सालमा नेपाली काग्रेसको तर्फवाट उम्मेदवार हुदा करिव ३१२८६ भन्दा वढी प्युठानी दाजुभाई दिदीवहिनिहरुले मलाई माया गरि मत दिनु भएको थियो। पराजीत भए पछि ५ वर्षमा म प्युठानका ६४ मध्ये ६३ वार्डमा पटक पटक दाजुभाई दिदीवहिनिहरुको घरआगनमा पुग्ने मौका पाए। मेरो उम्मेदवारीका लागि सिफारिस पनि भएको र जनताको सुखदुखमा आफुले सकेसम्म सहभागि भएकोले धेरैले फेरि पनि म नेपाली काग्रेसवाट उम्मेदवार भई आओस भन्ने ईच्छा गरेको पाएको छु। तर अनौपचारिकरुपमा बाहिर आएका समाचारका आधारमा म फेरि रुख चिन्ह लिएर उम्मेदवार भई आउने सम्भावना माथि प्रश्न चिन्ह लागेको छ। तर औपचारिक समाचार नआउदा सम्म सम्भावना छदैछ।
यदि बाहिर आएका गठवन्धनका समाचार सहि भएमा म प्युठानी जनताका बीच रुख चिन्हमा पार्टी र पार्टीको उम्मेदवारलाई मत माग्न आउने छु। नेपाली काग्रेसका उम्मेदवारलाई बिजयी गराउन विनम्र अनुरोध पनि गर्दछु। तपाईहरुको दुखसुखमा सधै साथ रहनेछु। मलाई अन्य किसिमले प्युठानमा संघिय उम्मेदवार हुनुहोस भन्ने धेरै शुभेच्छुक र साथीहरुको प्रस्तावमा म पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु तर प्रस्तावलाई सकारात्मकरुपले लिएर उपायहरु खोज्दै छु। यस बीचमा केहि नयॅा परिदृष्यको विकास भएमा अवस्य जानकारी गराउने छु।
जय प्युठान!!! जय नेपाल !!!