
काठमाडौं, १४ असोज । विवेकशील साझा पार्टीले डेंगु नियन्त्रणमा गम्भीर बन्न स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई आग्रह गरेका छन् ।
पार्टीका नेता मिलन पाण्डेले आज स्वास्थ्यमन्त्री खापुङलाई भेटेरै डेंगु रोगको नियन्त्रणमा थप सक्रिय हुन अनुरोध गरेका हुन् ।
करिब एक घण्टाको छलफलमा पाण्डेले नागरिकको अवस्था तथ्यांकभन्दा भयावह रहेको जानकारी दिँदै पाण्डेले आफू पुगेको अस्पतालहरुको अवस्थाको बारेमा समेत मन्त्रीलाई जानकारी दिएका थिए ।
पाण्डेले सरकारले स्थानीय तह (वडा) तहसँग मिलेर सचेतनाको कार्यक्रम गर्ने, लामखुट्टेको चेन ब्रेक गर्न काम गर्ने, विद्यार्थी, शिक्षक र टोल सुधार समितिहरूलाई सचेतना कार्यक्रममा संलग्न गराउनुपर्ने सुझाव मन्त्री खापुङलाई दिएका छन् ।
त्यस्तै उनले सिटामोलको अभाव र वितरणमा मन्त्रालयले चासो लिन र डेंगु सङ्क्रमित बिरामीका लागि चाहिने औषधि र स्वास्थ्य संस्थाहरूमा बेड थप गर्न आवश्यक पहल गर्न पनि मन्त्रीसँग आग्रह गरेका छन् ।
काठमाडौँ, ललितपुर र भक्तपुरलगायत जिल्लामा प्रत्येक घरमा डेंगु रोगको बिरामी रहेको भन्दै नेता पाण्डेले अब तराइमा समेत डेंगु बढ्ने अनुमान रहेकाले पूर्व तयारीमा जुटन सरकारलाई आग्रह गरेका छन् ।















प्रतिक्रिया