२ कार्तिक २०८३, सोमबार

मधेशमै भनेजति सीट नपाउने भएपछि गठबन्धन छोडेर एक्लै चुनाव लड्ने मनस्थितिमा जसपा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । सीट सङ्ख्याको भागबण्डामा कुरा नमिलेपछि पाँचदलीय गठबन्धनमा समस्या आउने सङ्केत देखिएको छ ।

गठबन्धनको एक प्रमुख घटक दल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भनेजति सीट व्यवस्थापन गर्न गठबन्धन असमर्थ हुने भए आफू एक्लै चुनाव लड्ने धम्की दिँदै आएको छ ।

जसपाले मधेश प्रदेशमा मात्रै १५ सीट पाउनुपर्ने दाबी गर्दै आएको छ । तर, गठबन्धनमा सो पार्टीलाई देशभर जम्मा १५ सीट दिनेबारे छलफल केन्द्रित भएपछि पछिल्लो समय जसपा रुष्ट बनेको छ ।

आगामी चुनावमा आफूहरूलाई कुनै वैशाखीको आवश्यकता नपर्ने भन्दै जसपाका नेताहरू सकेसम्म गठबन्धनबाट बाहिरिने सोचमा छन् । मधेशमा आफ्नो उपस्थिति र प्रभाव राम्रो रहेको आधारमा जसपा छुट्टै चुनाव लड्ने मनस्थितिमा समेत पुगेको बताइएको छ ।

गठबन्धनभित्र मधेशवादी पार्टीलाई बारम्बार अपमानपूर्ण व्यवहार गर्ने प्रयास भएको भन्दै नेताहरू रुष्ट बन्दै आएका छन् । गठबन्धनमा सम्मानजनक व्यवहार नभए त्यहाँ टाँस्सिरहनुको कुनै अर्थ नरहने बताउँछन् गठबन्धनबाट गठित कार्यदलको सदस्य समेत रहेका जसपाका कार्यकारिणी सदस्य मनिष सुमन ।

गठबन्धन बनाउन अन्य दलको भन्दा बढी भूमिका र मेहनत जसपाको रहेको भन्दै उनले सीट बाँडफाँटमा आफूहरूले सम्मानजनक उपस्थिति खोजिरहेको उनको भनाइ छ ।