
काठमाडौं, १४ असोज । प्रतिनिधिसभातर्फ कम्तीमा २५ सीट पाउनुपर्ने अडानका साथ पाँच दलीय सत्ता र चुनावी गठबन्धनमा सहभागी भएको माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले १७ सीटमात्रै पाएको छ ।
सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको सीट भागबण्डा मिलाउने क्रम अन्तिम अवस्थामा पुगेसँगै सो पार्टीले १७ सीट मात्रै पाउने भएको हो । योसँगै २५ सीट दाबी गरेर कम्तीमा २२ सीट लिने नेकपा एसको योजना चकनाचुर भएको छ । त्यसो त उसले सुरूमा आफूलाई ४० सीटको दाबेदार भनेर प्रस्तुत गरेको थियो ।
प्रतिनिधिसभामा कम सीट पाएको समाजवादीलाई प्रदेशसभाको सीटमा केही थप सीट दिने आश्वासन गठबन्धनका नेताहरूले दिएका छन् । तर, झन् झन् पार्टीको हैसियत गिर्दो अवस्थामा रहेको नेकपा एसलाई सोचेजति न्याय गर्ने अवस्थामा गठबन्धन देखिएका छैन ।
बाँडफाँटको क्रममा नेपाली कांग्रेसले ८४ र माओवादीले ४४ सीट लिने पक्का भएको बताइएको छ । झट्का सहेर माधव नेपालले १७ सीटमा चित्त बुझाउने संकेत गरे पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी थप असन्तुष्ट बन्दै गएको छ ।
उसले एक्लै चुनाव लड्ने वा अन्य दलसँग चुनावी तालमेल गर्ने भनेर रणनीति तयार गरिरहेको बताइएको छ ।















प्रतिक्रिया